काठमाडौं : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण लामो समयदेखि बन्द रहेको नपाली सिनेमा हलहरु असोज २१ अर्थात घटस्थापनाको दिनदेखि खुल्ने भएको छ । नेपाल चलचित्र संघले घटस्थापनादेखि हल खुलाउने निर्णय गरेको हो ।
फिल्म निर्माता र वितरकहरु सहित संयोजक अशोक शर्माको संयोजकत्वमा आइतवार बसेको बैठकले ६ बुँदे निर्णय समेत सार्वजनिक गरेको छ । समितिले नेपाली फिल्म प्रदर्शन भएको दुई सातापछि मात्रै अर्को फिल्म रिलिज गर्ने पाइने नियम बनाएको छ । यस्तै, नेपाली फिल्म रिलिजको मिति तोकिएको समयमा हलिउड तथा बलिउड फिल्महरु रिलिज गर्न नपाइने समेत बताइएको छ ।
अघिल्लो तीन महिनासम्म प्रदर्शन गरिने फिल्महरुको रिलिज मिति आगामी असोज २० भित्र सार्वजनिक गर्न चलचित्र संघले आग्रह गरेको छ ।