रामेछाप- रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको ५ वटै वडाहरुमा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरण, स्वास्थ्य तथा सरसफाई परियोजना मन्थली रामेछाप तथा सुनापति गाउँपालिका एवं सम्पूर्ण वडा कार्यालयहरुको आर्थिक सहयोग र युनाईटेड डेन्टल केयर प्रा.लि. काठमाण्डौंको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।
दाँतको परीक्षण, उपचार तथा परामर्श दिइ नयाँदाँत राख्नुपर्ने विरामी पत्ता लगाउने उद्देश्यले संचालन गरिएको शिविरमा दाँत उखेल्ने,भर्ने, दाँतका विरामीहरुलाई गाउँमा नै गुणस्तरीय तथा विशेषज्ञ सेवा प्रवाह गरी शिविर संचालन गरिएको परियोजना संयोजक तिलक कार्कीले बताए।
शिविरमा सुनापति गाउँपालिकाका ५ वटै वडाहरुका ७ सय ४० दाँतका विरामीहरुले उपचार, परामर्श पाउनुका साथै ३०८ जना दाँतका रोगीहरुको दाँत फुकाल्नुका साथै ७३ वटा दाँत भरेको संयोजक कार्कीले जानकारी दिए।पहिचान भएका नयाँ दाँत हाल्नु पर्ने दाँतका विरामीहरुलाई केहि समयमा नै व्यक्ति, गाउँपालिका र परियोजनाको साझेदारीतामा शिविर संचालन गर्ने सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलनकुमार घिसिङले बताए।