०५ चैत्र २०७८ रामेछाप- रामेछापको सुनापतिमा सुनापति गाउँपालिका खेलकुद विकास समितिद्वारा आयोजित तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ को उद्घाटन सत्र सम्पन्न भएको छ।
सुनापति खेलकुद विकास समितिको अध्यक्ष गोबिन्द घिमिरेको अध्यक्षता संचालन भएको कार्यक्रममा बागमती प्रदेश सामाजिक बिकास मन्त्रि कुमारी मोक्तान प्रमुख आथित्य रहेको थियो।उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य युवराज चौलागाईं, सुनापति गाउँपालिका अध्यक्ष धावा लामाको बिशेष आथित्यता रहेको थियो।त्यस्तै कार्यक्रममा कार्यक्रममा अतिथिको रुपमा सुनापति गाउँपालिकाका उपाध्यक्ष गीता बिष्ट चौलागाईं, दोरम्बा शैलुङ गाउँपालिकाका उपाध्यक्ष कृशाला घिसिङ, नेकपा (एकीकृत समाजवादी ) का रामेछाप जिल्ला कमिटि सचिव लालसिङ घिसिङ, सुनापति गाउँपालिकाका पाँचै वटा वडाका वडाध्यक्षहरु,मन्थली नगरपालिका वडा न.१ का वडा अध्यक्ष नारायण दास श्रेष्ठ, रामेछाप जिल्ला खेलकुद क्षेत्रका दिग्गज व्यक्तिहरु लगायत स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो।
प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै मन्त्रि मोक्तानले खेलाडीको खेल जीवनमा धेरै जोखिम रहेकाले प्रदेश सरकारको व्यवसायिक खेलाडीको खेलाडी जीवन बिमाको प्रबन्ध गर्ने कुरामा जोड दिएको बताउनुभयो। साथै प्रदेशले खेलकुद क्षेत्रलाई बिशेष ध्यान दिएर हेर्नाकोलागी छुट्टै खेलकुद मन्त्रालयको ब्यबस्था गरेको र भर्खरै प्रदेशको सामाजिक विकास मन्त्रालयको प्रदेश विश्वविद्यालयको स्थापनाकालागि काम अगाडी बढाएको समेत बताउनुभयो।
त्यस्तै बिशेष अतिथि युवराज चौलागाईंले नेपालले खेल क्षेत्रमा विकास गरेर त्यसलाई अर्थतन्त्र बिकासको आधारका रुपमा विकास गर्न सकिने बताउनुभयो।साथै चैत्र ८ गते सुनापति गाउँपालिका अध्यक्ष कपको फाइनल भए जस्तै नेपालको राजनीतिमा बैशाख ३० गते स्थानिय तहको फाईनल खेल हुने र त्यसमा माओबादि केन्द्रले बाजी मार्ने बताउनुभयो।साथै समग्र युवाको बिकासमा ध्यान दिने र बिकासकालागि माओबादी पार्टीको योजना भएकोले आगामी स्थानिय चुनावमा माओबादि पार्टीलाई सहयोग गर्न खेलाडीहरुलाई अपिल गर्नुभयो।
त्यसैगरी वडा न. ३ वडा अध्यक्ष बाबुराम तामाङले शुभकामना मन्तब्य राख्दै सुनापति गाउँपालिकामा खेलकुद क्षेत्रको बिकासकालागि स्थानिय सरकारले बिशेष ध्यान दिएर कार्यक्रम अगाडी बढाएको जानकारी दिनुभयो।स्थानिय स्तरका खेलाडीहरुको खेल प्रतिभामा विकास गर्नकालागी आपसी प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नकालागी जिल्ला स्तरिय खेलकुद आयोजना गरिएको बताउनुभयो।सुनापति गाउँपालिकामा व्यवस्थित खेल मैदान नभएकोले गाउँपालिका स्तरिय कवर्ड हल निर्माण गर्न प्रदेश सरकारसँग माग गर्नुभयो।
उद्घाटन समारोहमा दोरम्बा शैलुङ गाउँपालिका र गोकुलगंगा गाउँपालिकाबीच भएको भलिबल प्रतियोगितामा गोकुलगंगा गाउँपालिकाले जित हासिल गरेको छ भने अर्को खेल लिखु तामाकोसी गाउँपालिका र उमाकुण्ड गाउँपालिकाबीच भएको प्रतिस्पर्धामा लिखु तामाकोसी गाउँपालिकाले जित हासिल गर्न सफल भएको छ।
तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८ मा पहिलो रामेछाप जिल्ला अन्तर पालिका स्तरिय भलिवल तथा ब्याडमिण्टल प्रतियोगिता रहनुको साथै सर्वाधिक पुरस्कार राशि समेत रहेको प्रतियोगिता हो। प्रतियोगिताआगामी चैत्र ८ गते सम्पन्न हुने भएको छ।