काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि खटिएका ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ । निर्वाचन सुरक्षाका लागि १ लाख म्यादी प्रहरीलाई चैत २८ गतेबाट १ साता सुरक्षा तालिम दिएर जिल्ला प्रहरी कार्यालय मातहत रहने गरी ४० दिनको ड्युटीमा खटाइएको छ ।
जसमध्ये ४ जना म्यादी प्रहरीको विभिन्न कारणले मृत्यु भएको हो । ड्युटीमा खटिएकाहरुमध्ये काठमाडौं, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक(एक जना म्यादी प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मन्त्रिपरिषद्ले आइतबार निर्वाचन सुरक्षामा खटिँदा ज्यान गुमाएका म्यादी प्रहरीको परिवारलाई प्रतिमृतक २० लाख रुपैयाँ दिने निर्णय गरेको छ । त्यस्तै आचारण विपरित गतिविधि गरेको कसुरमा ४८ जना म्यादी प्रहरी बर्खास्त भएका छन्।