रामेछाप । रामेछाप जिल्लाको सुुनापति गाँउपालिका वडा न.४ मा रहेको सुुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टर प्रा.लि.ले दुई महिना निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । भ्वासा च्यारिटी मेडिकल सेन्टरले आगामी जेष्ठ र असार गरि दुई महिना सुनापति गाँउपालिकाको पाँच वटै वडाका सम्पूर्ण नागरिकलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको हो।
आइतबार सुनापतिको बेथानमा आयोजिक एक कार्यक्रममा बोल्दै सुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टरका सचिव कमानसिङ तामाङले दुई महिनासम्म त्यहाँका नागरिकलाई निशुल्क स्वास्थ्य सेवा दिने जानकारी दिएका हुन।सचिव कमान सिङले भने ‘चुनावपछि आगामी दुई महिना यस सुनापति गाँउपालिका भित्र रहेको पाँच वटै वडामा रहेका बिरामी नागरिकहरुलाई सुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टरमा उपलब्ध सबै स्वास्थ्य सेवाहरु हामी निशुल्क उपलब्ध गराउने छौं ।’
साथै सुनापति गाँउपालिकाको कुनै पनि नागरिकलाई भेदभाव नगरी सबैलाई निशुल्क स्वास्थ्य सेवा दिने उनले बताए ।
यसअघि पनि सुुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टर प्रा.लि.का अध्यक्ष बिमानसिङ तामाङको पहलमा सुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टरले ५६ हजार बराबरको औषधि लगायतको सामाग्री जुटाई दोलखा जिल्लाको बिगु गाँउपालिकामा रहेको टासी छिमे गाछल गुम्बालाई हस्तान्तरण गरेको थियो ।सुुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टर प्रा.लि.का अध्यक्ष बिमानसिङ तामाङले बिगतको विभिन्न विपतको अवस्थामा सुनापतिबासीलाई आफुले स्वास्थ्य तथा खाद्यान्न सहयोग गरेको र अहिलेको समयमा पनि सुनापतिबासीको स्वास्थ्यलाई ध्यानमा राखी निस्वार्थ भावनाले निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न लागेको सुनौलोपानालाई बताए।स्वास्थ्य चेकजाच गर्न आउदा नागरिकले आफ्नो परिचय खुल्ने परिचयपत्र (नागरिकता,बिद्यार्थी परिचय पत्र,पासपोर्ट,सवारी चालक अनुमति पत्र) अनिवार्य ल्याउनु पर्ने जानकारी गराए।
निशुल्क स्वास्थ्य सेवा संचालन सम्बन्धि थप जानकारी लिन चाहनेहरुले सुुनापति भ्वासा च्यारिटी मेडिकल सेन्टर प्रा.लि.का अध्यक्ष बिमानसिङ तामाङको सम्पर्क नम्बर ९८६०६०६१७७ मा सम्पर्क गर्न सक्नुहुनेछ।