रामेछाप । सुनापति गाँउपालिकाको नवनिर्वाचित अध्यक्ष ठुलोकान्छा तामाङ र उपाध्यक्ष गीता बिष्ट चौलागाईले आज पदभार ग्रहण गरेका छन् । पालिकाको अध्यक्ष र उपाध्यक्षसँगै पाँचवटै वडाका वडा अध्यक्ष र वडा सदस्यहरु सबैले पदभार ग्रहण गरेका हुन् ।
सोमबार सुनापति गाँउपालिकामा एक कार्यक्रम आयोजना गरि उक्त पदभार ग्रहण कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा सुनापति गाँउपालिकाका निवर्तमान अध्यक्ष धावा लामासँगै प्रमुख प्रशासकिय अधिकृत कमलराज श्रेष्ठ लगायत गाँउपालिकाका अन्य कर्मचारीहरुको पनि उपस्थित रहेको थियो ।
पदभार ग्रहण गर्दै सुनापति गाँउपालिकाको नवनिर्वाचित अध्यक्ष ठुलोकान्छा तामाङले आफूले इमान्दारिताका साथ सुनापतिबासिको सेवाका लागि हरदम तत्पर रहने जानकारी दिए । त्यसका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक निर्माण, यातायात लगायतका विकास निमार्णका विषयहरुलाई पनि स्तर उन्नती गर्दै जानेमा उनले जोड दिए । उनले भने ‘विगतको चुनावमा मैले वडा अध्यक्ष भएर ५ वर्ष काम गरिसके । विगतका दिनहरुको अनुभव सँगाल्दै थप विभिन्न नयाँ कार्यक्रमहरु लिएर आम नागरिकको सेवा गर्नेछौं ।’
त्यसो त मत दिएर जिताउने सम्पूर्ण सुनापतिबासिहरुलाई धन्यवाद दिदैं आफू सबैको ऋणी भएको र ऋण चुर्ता गर्नको लागि आफूले राम्रो काम गरेर देखाउने अध्यक्ष तामाङले प्रतिबद्धता गरेका छन् । गाँउपालिका अध्यक्ष भएर इमान्दारिताका साथ चुस्तदुरुस्त र पारदर्सी तरिकाले काम गर्दै जाने उनको भनाइ छ ।
गाँउपालिकाकी उपाध्यक्ष गीता बिष्ट चौलागाईले पनि आफू विगतकोे ५ वर्षमा उपाध्यक्ष भएर गरेको विभिन्न कार्यको अनुभव र सिकाइकोे आधारमा अबको ५ वर्ष फेरी पनि सुनापतिबासिको सेवाका लागि सर्मपित गर्ने बताइन् ।
उनले भनिन् ‘समग्र सुनापति गाँउपालिकाको बालबालिका, वृद्धवृद्धा, हक अधिकार, दलित तथा पिछडिएका वर्गहरुको हरदम सेवा गर्न सधै तयार रहने छु ।’
कार्यक्रममा बोल्दै आफूले गर्नुपर्ने कामका साथै कर्मचारीले पनि इमान्दारीताका साथ काम गर्नुपर्नेमा उनले जोड दिइन । यससँगै पालिकाले गर्ने हरेक कार्यमा सहभागी भइ आफूले समेत सहकार्य गरेर निर्णय गर्ने उनी बताँउछिन् ।
उक्त कार्यक्रममा पूर्व जनप्रतिनिधिहरुलाई बिदाई र नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरिएको थियो । त्यस्तै कार्यक्रममा निर्वतमान अध्यक्ष धावा लामा लगायत निर्वतमान वडा अध्यक्षहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा उपस्थित निवर्तमान अध्यक्ष धावा लामाले आफूले विगत ५ वर्षमा जनताका भावना अनुरुप काम गरेको र अब त्यसलाई थप जिम्मेवारीका साथ निरन्तरता दिनका लागि नवनिर्वाचित गाँउपालिका अध्यक्ष ठुलोकान्छा तामाङलाई आग्रह गर्दै आफैले सक्दो सहयोग गर्दै आगामी दिनमा पनि आफू जनताकै माझमा रहेर काम गर्ने बताए ।
त्यस्तै कार्यक्रममा निर्वतमान वडा अध्यक्षहरुले समेत आफूले विगत ५ वर्षमा गरेको कामको अनुभव सुनापतिबासिमाझ साटेका थिए ।