साउन ५ सोमवार, २०८२ काठमाण्डौ-रामेछापकाे सुनापति गाउँपालिकाको पर्यटन विकासकोलागि अन्तरक्रिया कार्यक्रम गरिएको छ।आईतवार भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डको हलमा गाउँपालिकाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले सुनापतिमा पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुको साथै सुनापतिलाई खाँडादेवी गाउँपालिका र दोरम्बा शैलुङ गाउँपालिकासम्म कालोपत्रे सडकमार्फत जोड्न सकेमा पर्यटनको सम्भावना रहेको थप बलियो हुनेमा जोड दिए।

पूर्व गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठले रामेछापलाई युद्ध पर्यटनको रूपमा पनि चर्चा गर्ने गरिएको भन्दै सुनापतिको पर्यटनमा युद्ध पर्यटनलाई पनि केन्द्रित गर्नुपर्ने बताए।

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा पूर्व सांसद देवशंकर पौडेलले पनि सुनापति र दोरम्बा गाउँपालिको सहकार्य गरेर पर्यटन प्रवर्द्धनको कार्यक्रम अगाडी लैजानुपर्ने बताए। पौडेलले भने, ‘सुनापतिको देसारगाउँमा तामाखानी उत्खनन गरेका सुरुङहरू छन्, त्यसबारे अध्ययन गर्नुपर्छ।’ सुनापतिमा रहेका सुवेदार जम्दार धारो र अग्लेश्वरी पहाड जस्ता ऐतिहासिक कुराहरूलाई प्रचार गर्न सकेमा पर्यटनको विकास गर्न सकिने पौडेलले बताए।

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कमलप्रसाद चौलागाईंले सुनापतिमा पर्यटनको सम्भावनाबारे चर्चा गरेका थिए।सुनापतिमा रहेका विभिन्न समुदायहरुको संस्कार,सँस्कृति,रिति रिवाजको प्रचार प्रसारमा पनि जोड दिएका थिए।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पर्यटन प्रवर्धनमा पर्यावरण, वनस्पतीलाई जोड्न सकिने उल्लेख गरे।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पदमार्गहरुलाई विकासका नाउँमा डोजरे संस्कृतिले भत्काइरहेको अवस्थामा सुनापतिले त्यसाे नगरेकाेमा खुशी व्यक्त गर्दै पर्यटन बोर्डले प्राविधिक टीम खटाएर अध्ययन र प्रचार प्रसार, प्रवर्धनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे सुनापति गाउँपालिकाले जस्तै सबै स्थानीय तहरु पर्यटनप प्रवर्धनमा सक्रिय हुनुपर्नेमा उनले जोड दिए । पर्यटन प्रवर्धनका लागि भूगोल, रहनसहनन, खानपीन, परम्परा र ऐतिहासिक, र सांस्कृतिक कुराहरु पनि पर्यटनभित्र पर्ने भएकाले कृषिलाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिए।

सुनापति गाउँपालिकाको अध्यक्ष ठूलो कान्छा तामाङले सुनापति गाउँपालिकालाई पर्यटकीय गन्तब्य स्थल बनाउनकोलागि विभिन्न संरचनाहरुको निर्माण भएको र कतिपय संरचनाहरु निर्माणको क्रममा रहेको बताए।तामाङले गाउँपालिका समृद्ध बन्न पूर्वाधार विकासले मात्रै नहुने भएकाले पर्यटन प्रवर्धनका लागि जोड दिइएको बताए। पर्यटन प्रवर्धनका लागि स्थानीय तहले मात्रै नसक्ने भएकाले प्रदेश तह,संघीय सरकार, पर्यटन बोर्डजस्ता सरकारका विभिन्न निकायहरुले पनि सहयोग गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै सुनापति गाउँपालिकाकी उपाध्यक्ष गिता विष्टले सुनापति गाउँपालिका युद्ध पर्यटकीय थलो, ऐतिहासिक ठाउँहरु, पर्यटन प्रवर्धनका लागि थाङ्का र गलैँचाकाे हब बनाउनकाे लागि प्रचार प्रसारकाे खाँचाे रहेकाे औँल्याइन। पर्यटकीय हिसाबले सम्भावना र अवसर तथा चुनौतीका बारेमा यस्ता कार्यक्रममार्फत सुझाव, सल्लाह लिएर कार्यान्वयनमा लैजाने पालिकाेकाे याेजना रहेकाे बताइन।

सुनापति गाउँपालिकाको अध्यक्ष ठूलो कान्छा तामाङ सभा अध्यक्ष रहेको कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत सुरेश कुमार श्रेष्ठले गरेका थिए।

कार्यक्रममा स्थानीय तहमा उत्पादन भएका गलैँचा, थाङ्का, टिमुर, मह, बुद्धचित्तको माला प्रदर्शनी र बिक्रीमा राखिएको थियो भने कलाकारहरूले डम्फु र टुङ्ना बजाएर अतिथिहरूलाई स्वागत गरेका थिए।


सुनापति गाउँपालिकाकोतर्फबाट पर्यटन बोर्डलाई सुनापतिमा निर्मित गलैँचा उपहार दिइएको थियो।


कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा ऊर्जा, जलश्रोत तथा सिँचाइ पूर्व राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै कार्यक्रममा विशेष अतिथिको रुपमा पूर्व गृह राज्य मन्त्रि श्याम कुमार श्रेष्ठ,रामेछापका पूर्व प्रतिनिधि सभा सदस्य देवशंकर पौडेल,नेकपा एमालेका केन्द्रिय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कमल प्रसाद चौलागाईं,संविधान सभा सदस्य डिल्लीमान तामाङ,बागमती प्रदेश सभा सदस्य तथा बागमती प्रदेश सभाको उद्योग पर्यटन तथा वातावरण समितिको सभापति माननीय आनन्द कुमार श्रेष्ठ,रामेछाप प्रदेश सभा”ख” तर्फका बागमती प्रदेश सभा सदस्य माननीय युवराज चौलागाईं, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारादमणी हर्ताम्छालीको उपस्थिति रहेको थियो। त्यस्तै अतिथिको रुपमा जिल्ला समन्वय समिति रामेछापका उपप्रमुख प्रेम सागर थापा,दोरम्बा शैलुङ गाउँपालिकाका अध्यक्ष मैन कुमार मोक्तान,नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङ,नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा,नाटाको अध्यक्ष तथा नेपाल पर्यटन बोर्डको सदस्य कुमारमणि थपलिया,रामेछापकाे सुनापति गाउँपालिकाको पर्यटन विकासकोबारेमा आफ्नो धारणा राख्दै ट्रेकिङ एजेन्सि एसोसियसन अफ नेपालका अध्यक्ष सागर पाण्डे, सुनापति गाउँपालिकाका पूर्व अध्यक्ष धावा लामा,नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि रामचन्द्र खड्का लगायत सुनापति गाउँपालिकाको निवर्तमान र वर्तमान वडा अध्यक्षहरु,समाजसेवीहरु,कर्मचारीहरु,जिल्लाका विभिन्न राजनीतिक पार्टीका नेतृत्व, पत्रकार तथा अन्य पेशा व्यवसायमा संलग्न व्यक्तिहरुको उपस्थिति रहेको थियो।






























