झापा– वातावरणमा प्रतिकुल असर पर्ने भएपछि स्थानीयरुले तीब्र विरोध गर्दागर्दै पनि चारपाने १ मा दर्ता भएको इटाभट्टालाई जबर्जस्ती हल्दीबारी १ गोलधापमा गर्न लागिएकाले स्थानीय बासिन्दा बिस्थापनको जोखिममा परेका छन।
चारपाने १ मा दर्ता भएको नमूना इटाभट्टालाई जबर्जस्ती हल्दिबारी १ साविक गोलधाप ८ मा संचालन गर्न लागिएको हो।गाउँपालिका कार्यालय र वडा कार्यालयको मिलेमतोमा स्थानीयहरुको विरोधका बावजुद उनीहरुको जनस्वास्थ्यलाई प्रत्यक्ष असर पर्नेगरी पेलेरै भएपनि इटाभट्टा संचालन गर्न खोज्दा मुठभेडको खतरा देखिएको छ। विगत केही महिनादेखि स्थानीयहरु निरन्तर सो इटाभट्टाको विरुद्धमा उत्रिएका छन।चारपाने १ मा दर्ता भएको नमूना इटाभट्टा संचालन गर्न लागिएको स्थान हल्दिाबारीमा दर्ता भएको देखिदैन। त्यसैगरी नियमानुसार वातावरण प्रभाव मूल्यांकन पनि गरिएको पाइदैन। तर, संचालकहरुले चारपाने १ मा दर्ता रहेको नमूना इटाभट्टाको शाखाको रुपमा हल्दिबारीमा सो इटाभट्टा खोलेको दाबी गरेका छन। त्यस्तै हल्दिबारीमा संचालन गर्नका लागि नमूना इटाभट्टाको वातावरण प्रभाव मूल्यांकन गरिएको छैन।नेशनल ब्रिक इन्डष्ट्रिजको नाममा गरिएको वातावरण प्रभाव मूल्यांकनको निहुँ पारेर संचालकहरुले हल्दिबारीमा नमूना इटाभट्टा संचालन गर्न लागेका हुन।
सशस्त्र द्वन्द्वकालमा स्थानीयको बिना स्वीकृति माओवादीको धम्कीको आँडमा करिव १४ वर्षअघि सो इटाभट्टा स्थापना गरिएको थियो। भट्टाका कारण आसपासमा बसोबास गर्ने मानिसहरुलाई अत्यन्तै प्रतिकुल असर परेको र स्थानीय, भट्टा संचालक र कर्मचारीहरुबीचमा आपसी असमझदारी भई दैनिक रुपमा झैझगडा हुन थालेपछि संचालन भएको ३ वर्षपछि सो भट्टा बन्द भएको थियो। सोही भट्टाका कारण एकजनाको मृत्यु भएको स्थानीयले बताएका छन। बन्द रहेको सोही भट्टालाई हाल आएर पुनः संचालन गर्न लागिएको हो। भट्टाको साँध सिमाना भएका सधियार र भट्टाले प्रतिकुल असर पार्ने क्षेत्रका सम्पूर्ण व्यक्तिहरुसँग कुनै स्वीकृति नलिई घरेलु तथा साना उद्योग कार्यालयमा दर्तासमेत नगरी पुनः सो भट्टा संचालन गर्न लागिएको स्थानीय रुकुम गुरुङले बताए। उनले मानव बस्तीसँगै विद्यालय, अस्पताललाई प्रतिकुल असर पार्ने भएपछि आफूहरुले विभिन्न निकायमा निवेदन दिएको जानकारी दिए। सधियारसहित २२ जनाले गत असोज १५ गते हल्दिबारी गाउँपालिकाको न्यायिक समितिमा भट्टा संचालन हुन नदिन निवेदन दिएका थिए। त्यसअघि उनीहरुले वडा कार्यालयको पनि ध्यानाकर्षण गराएका थिए। तर, वडा कार्यालय र गाउँपालिका कार्यालयसमेतले जनस्वास्थ्यमा प्रत्यक्ष असर पार्ने इटाभट्टा संचालनमा रोक लगाउनेतर्फ चासो नदेखाएको स्थानीयले बताएका छन। सम्बन्धित वडाका वडाध्यक्ष त्रिलोचन सापकोटा नै भट्टाको पक्षमा लागेको अगुवा रुकुम गुरुङले आरोप लगाए। ‘ यतिका वडाबासी विरुद्धमा उत्रिरहँदा उहाँ वास्ता गर्नु हुन्न’उनले भने ,‘भट्टा चलाउनकै लागि लागिपर्नु भएको छ।’
स्थानीय सरकारको रुपमा रहेको वडा कार्यालय र गाउँपालिका कार्यालयले भट्टा संचालकलाई नै साथ दिएपछि स्थानीयले जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा निवेदन दिएका छन। आफूहरुलाई उठिवास लगाउनेगरी खोलिने भट्टा रोक्न आफूहरु जुनसुकै निकायमा जान बाध्य हुने स्थानीय राजकुमार लिङ्खिमले बताए। ‘यतिका मानिसहरुको स्वास्थ्यसँग खेलवाड हुँदैछ’उनले भने ‘हामी जस्तोसुकै आन्दोलन गर्न तयार छौं।’ आफूहरु संघर्ष समिति गठन गरी आन्दोलनमा जाने उनले जानकारी दिए। २०६४ फागुन १७ गते चारपाने १ मा दर्ता भएको नमूना इटाभट्टाको संचालकमा खगेन्द्र सिग्देल र जगन्नाथ खनाल रहेका थिए। अहिले आएर सो भट्टा शीलादेवी घिमिरे र दिनेश चौलागाईको नाममा आएको देखिन्छ।