१६ बैशाख २०७९ काठमाण्डौ-नेकपा (एकिकृत समाजवादी) रामेछापबाट खाँडादेवी गाउँपालिका वडा न. १ को वडा अध्यक्षकोलागी तिर्थलाल श्रेष्ठले उम्मेदवारी दिएका छन।
श्रेष्ठ भन्छन, ‘हाम्रो लोकतन्त्र प्राप्तिको त्यगको न्याय र लोकतन्त्रको आभास खास रुपमा जनताका जीवनस्तर माथि उठे पछि मात्रै सम्भव छ, त्यसैले आजको वैज्ञानिक युगमा उन्नत जीवनस्तर नै लोकतन्त्रको अकाट्य सर्त हो । घरघरमा, गाँउगाँउमा लोकतन्त्र उन्नत शिक्षा, सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा र विज्ञानबाट मात्रै झल्किन्छ ।’ त्यसैले ‘समग्र विकास’ को नीति अंगिकार गर्दै त्यसैस्वरुप आफुले प्याकेज र कार्यक्रमको योजना बनाएको र जनतामाझ त्यहि लिएर जाने श्रेष्ठ बताउँछन।उनका अनुसार, आर्थिक, राजनैतिक, साँस्कृतिक, सामाजिक र पर्यावरणीय समृद्दीलाई समेत एकिकृत एजेन्डा बनाएपस्चात ‘समग्र विकास’ सम्भव छ ।
प्रविधियुक्त गाउँ, प्रविधिमा आधारित शैक्षिक व्यवस्थापन, सार्वजनिक स्वास्थ्य सेवा चुस्त तथा गाउँ पायक, ठाँउ अनुकुलता हेरि आधुनिक कृषि; वडामै उमेर समुह, परम्परागत पेसासमुह, वैदेशिक रोजगारबाट फर्कने युवा लक्षित साना तथा मझौला कृषि, जडिबुटि, पर्यटनमा आधारित उद्दोग संचालन र रोजगारी प्रवर्धन गर्ने र त्यसबाट न्युनतम बचत सबैको हुनुपर्ने उनका सर्तहरु छन। यस्तै, सामाजिक सुरक्षाका कार्यक्रम समेत उनले प्राथामिकतामा राखेका छन । फरक क्षमता भएका, जेष्ठ नागरिक, गर्भवती, सुत्केरी, नवजात शिशु लक्षित चुस्त सेवा प्रदान गर्ने कार्यक्रम समावेश छन भने विकासका योजनाहरुमा सुशासनको ग्यारेन्टि र भ्रष्ट्राचारमा शुन्य सहनशीलता अगाडि सारेका छन। पर्यावरण जगेर्ना गर्दै समुचित उपयोग गर्नसके पर्यावरणीय समृद्दी हासिल हुन सक्ने भन्दै उनले सामुदायिक वनमा कृषि-वनको अवधारणामा खेतिपाति गर्ने, खैरेनी-राकाथुम-खाँडादेवी हुँदै शैलुङ्सम्मको सडक द्रुत पर्यटकिय मार्गको रुपमा कालोपत्रे गर्ने, साँस्कृतिक पर्यटन प्रवर्धन र त्यसबाट मनज्ञ पैसा आर्जन हुने भन्दै पुरातात्विक महत्व बोकेका धार्मिक स्थालहरुको संरक्षण, प्रचार प्रसार गर्ने तथा माझि बस्तिमा होम-स्टे संचालन हुने उनले जानकारी दिए।