काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र नगरलाई खेलकुद नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।
१५औं गणतन्त्र दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मेयर कार्कीले सुसंस्कृत नगरका रुपमा कागेश्वरी मनोहरालाई विकास गर्ने अभियानमा खेलकुदको ठूलो महत्व हुने विचार राखे ।
‘कुनै पनि समाज, नगर र देशको विकासमा खेलकुदको भूमिका निक्कै ठूलो रहने गर्छ । विश्वका धेरै ठूला सहर र देशको पहिचान खेलकुदले बोकेका छन्,’ मेयर कार्कीले भने, ‘खेलकुद कुनै पनि समाजको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका लागि महत्वपूर्ण माध्यम हो । हामीले पनि खेलकुदको माध्यमबाट सुसंस्कृत कागेश्वरी मनोहरा बनाउने अभियान थालेका छौं ।’
मेयर कार्कीले संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसँगको सहकार्यमा नगरभरी नै खेलकुदका पूर्वाधारहरु बनाएर नगरपालिकालाई खेलकुद नगरका रुपमा स्थापित गर्ने बताए ।