काठमाडौं : तेह्रथुमको सदरमुकाम म्याङ्गलुङ्ग बसपार्कनजिक नरबहादुर खत्रीको सन्तोषी होटलमा गत बुधवार एकजना युवती मृत फेला परेकी छन् । उनी मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङ्स्थित स्वास्थ्य केन्द्रमा कार्यरत नर्स तनुजा कार्की थिइन्। यतिखेर कोरोना कहरका कारण सर्वत्र लकडाउन छ । चैतदेखि शुरु भएको लकडाउनले उनी पनि उतै अड्केकी थिइन् । तर,नियमितजसो घरमा सम्पर्क भइरहन्थ्यो । फोनमा आफूलाई ठीकै रहेको बताउँथिन्। गत माघमा केही दिनको छुट्टीमा मोरङ उर्लाबारी आइतवारेस्थित घर आउँदा भने त्यहाँ काम गर्न धेरै गाह्रो भएको भन्दै रोएकी थिइन्।
तर, परिवारले लामो समय घर परिवारमा बसेर हुर्केकाले बिरानो ठाउँमा जागिर खान जाँदा न्यास्रोले त्यसो भनेकी होलिन् भन्दै सहज तरिकाले लिएको थियो ।अहिले अप्रत्यासित रूपमा उनले आत्महत्या गरेको खबर आएपछि परिवार र आफन्त शो’कमा डुबेका छन् । लकडाउनले मुलुक नै ठप्प भएको र कोरोनाको उपचार गर्ने बेलामा एउटी स्वास्थ्यकर्मीले के कारणले आत्महत्या गर्नुपर्यो होला ? घटना रहस्यमय देखिएको छ। देशले कोरोनाको महमारीमा एउटा सिपाहि गुमाएकाे छ।
प्रहरीले उनी कार्यरत स्वास्थ्य केन्द्र बनाउने ठेकेदार नुवाकोट, तारकेश्वर-छ का खम्बसिङ्ग तामाङलाई यस प्रकरणमा गिरफ्तार गरी अपहरण,शरीर बन्धक र आत्महत्या दुरुत्साहनमा अदालतबाट म्याद थपेको छ। पहिला भने आत्महत्याको अभिलेख राखिएको थियो। घरमा दुई पत्नी हुँदाहुँदै २२ बर्षकी नर्स तनुजासङ्गसमेत नजिकिएको र १० गते सङ्गै सदरमुकाममा बाइक चढेर आई १३ गतेसम्म होटेलको उक्त कोठामा बसेर छाडी गएको प्रत्यक्षदर्शीहरुको भनाइका आधारमा थप छानविनका निम्ति तामाङ्गलाई समातिएको त्यहाँका प्रहरी प्रमुख नविनकिशोर प्रधानले बताए।