काठमाडौँ– आज मध्य साउन अर्थात् साउनको १५ गते । नेपालमा यस दिन खीर पकाएर खाने चलन छ । कहिलेदेखि शुरु भएको भन्ने उचित यकिन गर्न नसकिएपनि यो पराम्परा लामो समयदेखि चल्दै आएको विश्वास गर्न सकिन्छ ।
हामीमध्ये धेरैलाई कैतुहलता लाग्दो होला आखिर यो दिन खीर किन खाइन्छ भन्ने । आखिर साँच्च्चै यस दिन खीर किन खाइन्छ त ?
नेपाल एक कृष्प्रिधान देश हो । यहाँका अधिकांश व्यक्तिहरु कृषिमा नै आश्रित छन् । जसकारण पनि कृषिलाई धेरैको जीवन रक्षा गर्ने पेशाको रुपमा लिइन्छ । तसर्थ हामीमध्ये धेरैलाई थाहै छ , नेपालमा असारदेखि धान रोपाइँ शुरु हुन्छ । यसरी असारदेखि नै शुरु भएको धान रोपाइँ १ महिनापछि साउनमा आएर अन्त्य हुन्छ । तसर्थ यसरी महिनादिन लामो रोपाइँ कार्यक्रम अन्त्य भएको खुशियालीमा नै साउन १५ अर्थात् आजको दिन खीर खाएर रमाइलो गरिन्छ । र, यसले क्रमिक रुपमा संस्कृतिको रुप लिन गएको मानिन्छ ।
स्वादसंगै स्वास्थ्यलाई पनि उत्तिकै फाइदा
नेपालका कैयौँ यस्ता संस्कृतिहरु छन् जुन वैज्ञानिक दृष्टिकोणले पनि उत्तिकै उचित मानिन्छ । जसमध्ये साउन १५ पनि एक हो । किनकी साउन वर्षाको समय पनि हो । यस समयमा अधिकांश व्यक्तिहरुमा विभिन्न किसिमका भाइरल समस्याहरु देखा परी बिरामी हुने गर्छन् ।
तसर्थ खीरमा मिसाइने दुध, चामल, ल्वाङ,सुकमेल, मरिच, घ्यु, चिनीलगायतका सामाग्रीहरुले शरीरमा प्रतिरोधात्मक क्षमता अभिवृद्वि भएकाले खिर खानुलाई वैज्ञानिक दृष्टिकोणबाट पनि उत्तिकै उचित मानिन्छ ।