३ माघ मंगलवार २०७९ काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन।
हेटौंडामा आज बसेको प्रदेश सभा बैठकबाट जमकट्टेलले विश्वासको मत प्राप्त गरेका हुन् । उनको पक्षमा संसदमा प्रतिनिधित्व गर्ने ७ मध्ये ६ दल रहेका थिए । विश्वासको मत प्राप्त गर्न ५६ सांसद आवश्यक रहेकोमा उनको पक्षमा १०५ सांसदले मत दिएका थिए भने विपक्षमा ३ जना सांसदले मतदान गरे । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी र प्रतिपक्षमा बस्ने गरी नेपाली काँग्रेसले समेत विश्वासको मत दिएको छ।
विश्वासको मतको विपक्षमा नेपाल मजदुर किसान पार्टीका ३ सांसदले मतदान गरेका छन। विश्वासको मत प्राप्त गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री जमकट्टेलले संसदमा सहभागी अधिकांश दलले मत दिएको र सबै दलको विश्वासले खण्डित नगर्ने गरी काम गर्ने प्रतिवद्धता जनाए । उनले ७ मध्ये ६ दलबाट विश्वासको मत आउनुले नयाँ सन्देश प्रवाह भएको र जनताको सेवामा आफू काम गर्ने बताए।
उनले भने, ‘आज वागमती प्रदेश सरकारले अगाडि बढाएको छ। यसमा सबै एकै ठाउँमा हुनुभएको छ। नेपाल मजदुर किसान पार्टी बाहेक अरु प्रदेश सभामा प्रतिनिधित्व गर्ने ६ वटा राजनीतिक दलहरु एकै ठाउँमा उभिएका छौँ। यो विश्वासको मतले हामीलाई एउटा नयाँ सन्देश दिएको छ।’
मुख्यमन्त्री जमकट्टेलले वागमती प्रदेश सरकारले जनताको चाहनाअनुसार पूर्ण रुपमा प्रदेशमा स्थायित्व, सुशासन र विकासको निम्ति काम गर्ने बताए।