बिहिवार ७ वैशाख, २०८० तनहुँ-प्रधानमन्त्री एबं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख १० मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाउन तनहुँ १ का मतदाताहरुलाई अपिल गरेका छन।बुधबार तनहुँको डुम्रेमा भएको सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले तनहुँ १ बाट भट्टराईलाई जिताएर पठाउन आग्रह गरेका थिए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘गोविन्द भट्टराईलाई मन्त्री बनाउने भनेर शेरबहादुर देउवाजीले भनिसक्नुभयो,’‘अहिले म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले हो। शेरबहादुरजीले जिम्मा लिइसक्नुभयो म उहाँसँगै छु।’
यसअघि तनहुँ १ बाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति बनेपछि बैशाख १० मा उपनिर्वाचन हुन लागेको हो।
प्रधानमन्त्री दाहालले थपे , ‘रामचन्द्र पौडेल प्रधानमन्त्री बन्नुहुन्छ भनेर मैले यहाँ भनेको थिएँ। मेरो भनाइ खेर गएन, उहाँ महामहिम राष्ट्रपतिमा निर्वाचित हुनुभयो।’
उनले सत्ता गठबन्धनका उम्मेदवार भट्टराईलाई अत्याधिक मतले जिताएर पठाउनुपर्नेसमेत बताएका थिए। तनहुँको विकास निर्माणको काममा सरकारले ध्यान दिने पनि प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।
‘गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, रूख चिन्ह हामी सबैको साझा चिन्ह भइसकेको छ,’ उनले भने। गोविन्द भट्टराई त्यागको प्रतीकका रूपमा परिचित रहेको उनको भनाइ थियो।
‘त्याग र तपस्याका कीर्तिमान बनाउनुभएको योग्य उम्मेदवार गोविन्द भट्टराई हो,’ उनले भने। उनले मतदाताहरूमा कुनै किसिमको पनि दुविधा नराख्न आग्रह गरेका छन।
प्रधानमन्त्री दाहालले उपचुनावपछि पनि गठबन्धनकै सरकार रहने बताए।