१२ पुष २०८१ शुक्रवार,काठमाण्डौ- पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको जिल्ला अदालत कास्कीमा बयान सकिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको दुई दिन बयान भएको हो।
उनलाई २ दिनमा २६ भन्दा बढी प्रश्न गरिएको थियो भने आरोपमा इन्कारी बयान दिएका छन। उनीसँग पहिलो दिन बिहीबार ३ घण्टा र दोस्रो दिन शुक्रबार दिनैभरि बयान लिइएको हो। बयानका क्रममा उनले गोर्खा मिडियाको सबै जिम्मेवार जीबी राई रहेको बताएका छन।
हिलेसम्म छविलाल जोशी, लिला पछाईं र रविको बयान सकिएको छ। अब नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान बाँकी छ।
कृष्णबहादुर बिरामी परेकाले उनको बयान अदालतमा नहुनसक्ने प्रहरी स्रोतले जानकारी दिएको छ।
सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ। गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ।
यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ।