काठमाडौँ – सुनापति गाउँपालिका वडा नम्बर ३ मा चिया खेतीको सुरुवात भएको छ। रामेछाप जिल्लामा पर्ने सो गाउँपालिकामा लकडाउनको समयलाई सदुपयोग गर्दै चिया बगान बनाउनको लागि पहिलो चरण सुरु भएको हो।
सुनापति चिया विकास समितीको आयोजना र वडा नं. ३ का अध्यक्ष बाबुराम तामाङको सक्रियतामा बिगत २ वर्ष देखि चिया बगानको थालनी गरिएको हो।
यहाँको चिया बगान इलामको कन्यामभन्दा कम नहुने र भविष्यमा स्थानीय जनजीवनले पनि फड्को मार्ने समितीका संयोजक आले लामाको भनाई छ।
समितीका सचिव मानधोज तामाङले व्यक्तिगत र सरकारी जग्गा गरेर ५० हजार रोपनीमा सो खेती हुँदै आएको जनाए। उनले बगानको निमित्त करिब ३१ लाखको लगानी रहेको बताए। ‘चिया बगानमा २ लाख भन्दा बढी चियाको विरुवा रोपेका छौं, प्रतिफल पाउन अझै केहि वर्ष लाग्छ।’ ,उनले भने, ‘विज्ञको सुझावमा गरेको यस कार्य सफल हुने र यहाँको चिया वगान कन्यामभन्दा कम हुने छैन।’
पछिल्लो समय सुनापातीमा पर्यटनलाई समेत लक्षित गरी यस्ता विभिन्न कार्य हुँदै आएको छ। चिया बगानको तयारीमा लागेका स्थानिय बासिन्दाहरु आफ्नै गाउँमा रोजगार पाउनुको साथै अब चिया बगान हेर्न कै निम्ति दार्जलिङ्ग, इलाम जान नपर्ने बताउछन्।
हेर्नुहोस भिडियो :