२९ माघ २०८१ मंगलवार, रामेछाप- आगामी फागुन १ र २ गते सुनापति गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर संचालन हुन गईरहेको छ। सुनापति गाउँपालिकाको आयोजना र जर्मन नेपाल सहयोग संघ (GHNA) विकासका लागि एकता,धुलिखेल अस्पताल,ओम चावहिल डेण्टल हस्पिटल,नेपाल नेत्रज्योति संघ, सगरमाथा चौधरी आँखा अस्पताल नामक संस्थाहरुको समन्वयमा उक्त शिविर संचालन हुन लागेको हो।
सुनापतिका स्थानियहरुको स्वास्थ्य समस्यालाई मध्य नजर गर्दै उक्त शिविर संचालन गर्न लागिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले बताएका छ्न।
शिविरमा स्त्री रोग परिक्षण,दाँत तथा अनुहार परिक्षण,आँखा परिक्षण,जनरल स्वास्थ्य परिक्षण,अल्ट्रा साउण्ड (USG), स्वास्थ्य शिक्षा तथा परामर्श, औषधि वितरण गरिने पालिका उपाध्यक्ष गीता बिष्टले बताएकी छिन। साथै मानिस स्वस्थ रहे मात्रै उसले हरेक कार्य गर्न सक्ने र मानिसको स्वास्थ्य भन्दा ठुलो अरु हुन नसक्ने बताउदै यो शिविर संचालनबाट स्थानीयमा ठुलो राहत पुग्ने उपाध्यक्ष बिष्ट बताउछिन।
फागुन १ गते सुनापति गाउँपालिका वडा न.१ को नवनिर्मित अस्पताल भवनमा शिविर संचालन हुनेछ भने २ गते वडा न.५ रुपाकोटमा रहेको श्री कृष्णपुरी मा.वि. मा शिविर संचालन हुने छ।
माघ २८, २९ र ३० गते खाँडादेवी गाउँपालिकामा शिविर संचालन गरिसकेपछि आफुहरुले फागुन १ र २ गते सुनापति गाउँपालिकामा शिविर संचालन गर्न लागेको र यसबाट सकारात्मक प्रतिफल मिल्ने ओम चाबहिल डेण्टल हस्पिटल प्रा.लि. का संचालक कृष्ण घिमिरेले जानकारी दिए। साथै नागरिकहरुलाई स्वास्थ्य परिक्षणकोलागि आउन समेत आग्रह गरे।