१ असार २०७९ रामेछाप- “राष्ट्रको लागी खेलकुद, स्वास्थ्यको लागि खेलकुद” भन्ने मूल नाराका साथ रामेछापमा पहिलो पटक प्रथम खुल्ला डुङ्गा दौड प्रतियोगिता यहि मिति २०७९ असार ४ गतेका दिन मन्थली नगरपालिका वडा न.६ सेलेघाटमा संचालन हुने भएको छ।परम्परागत खेललाई संरक्षण र सम्बर्दन गर्ने मुख्य उद्देश्यका साथ माझि समुदायहरुलाई लक्षित गरि यो प्रतियोगिता आयोजना गर्न लागेको हो।राष्ट्रिय खेलकुद परिषदको आयोजना,रामेछाप जिल्ला खेलकुद विकास समितिको ब्यबस्थापन,मन्थली नगरपालिकाको आर्थिक सहयोग र नेपाल माझि उत्थान संघ रामेछापको समन्वयमा करिब २० जिल्ला भन्दा बढीले यस प्रतियोगितामा सहभागी हुने र १ हजार भन्दा बढी मानिसहरुको उपस्थितिमा प्रतियोगितालाई अवलोकन गर्ने आकलन गरिएको छ।
सिंगल र डबल गरि खेलहरु दुई बिधामा संचालन हुने छन।सिंगल बिधातर्फा प्रथम हुनेलाई रु.२० ०००, दित्तीय हुनेलाई रु.१५०००,तृतीय हुनेलाई रु.१०००० नगदसहित मेडल र प्रमाण पत्र पुरस्कार राखिएको छ र डबल बिधा तर्फ प्रथम हुनेलाई रु.३००००,दित्तीय हुनेलाई रु.२००००,तृतीय हुनेलाई रु.१०००० नगद र मेडल पुरस्कार समेत व्यवस्था गरिएको रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज घागा मगरले सुनौलोपानालाई जानकारी गराए।साथै यस कार्यक्रमबाट रामेछापका मात्र नभई देशै भरका माझी समुदायहरुको परम्परागत सिप सहित खेलकुदको संरक्षण हुने अपेक्षा गरिएको अध्यक्ष मगरले बताए।