चैत ५,२०८२,बिहिवार,काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ता विरुद्धको रिटमा आज सुनुवाइ गर्ने भएको छ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको थियो। यसअघी मंगलबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो। मंगलबार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता शुसिल पन्त, रमनकुमार श्रेष्ठ र अधिवक्ताहरू दिपेन्द्र झा लगायतले बहस गरेका थिए। उक्त मुद्दामा सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न आदेश दिएको थियो।
महान्यायाधीवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन। उक्त निर्णयविरूद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।






