३० भदौ, काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा ऊर्जा व्यवस्थापनका कारण नागरिकहरूबीच कुशल छवि बनाएका कुलमान घिसिङले तीनवटा मन्त्रालयको जिम्मेवारी पाएका छन।
नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन।
घिसिङले दुई पटकसम्म विद्युत प्राधिकरणको नेतृत्व गर्ने अवसर पाए । पहिलोपटक विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले मुलुकबाट लोडसेडिङ हटाउने कामको नेतृत्व गरेका थिए।
तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले ३१ भदौ २०७३ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी घिसिङलाई दिएका थिए। त्यसलगत्तै तिहारमा काठमाडौंमा विद्युत कटौती नगरी उनले लोडसेडिङ अन्त्यको पहल थालेका थिए।
प्राधिकरणको प्रबन्ध निर्देशक हुनुअघि उनले चिलिमे जलविद्युत आयोजनाको नेतृत्वसमेत गरेका थिए । तर, देशमा १८ घन्टासम्म रहेको लोडसेडिङ हटाउन लिएको पहलका कारण उनलाई नेपालीले उज्यालो नेपालका प्रतीकका रूपमा लिने गर्छन।
प्राधिकरणको प्रबन्ध निर्देशकको रूपमा पहिलो कार्यकालमा घिसिङले लोडसेडिङ हटाउनुका अतिरिक्त लामो समयदेखि घाटामा रहेको संस्थानलाई नाफामा गरेर समेत प्रशंसा कमाएका थिए।
विद्युत् वितरण प्रणाली सुधार, पारदर्शी र प्रभावकारी व्यवस्थापन, बिजुली चोरीको न्यूनीकरण र ग्रामीण क्षेत्रमा समेत पहुँच विस्तारका काम पनि उनले गरे।
तर, डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको तर महसुल नतिरेको भनेर उनले कार्यकालको अन्त्यतिर विभिन्न उद्योगलाई काटेको छुट बिलले उनलाई विवादित बनायो।
२७ साउन २०७८ मा दोस्रोपटक प्राधिकरणको कार्यकारी निर्देशक बन्दा भने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग उनको ट्युनिङ मिलेन।
ओली सरकारले घिसिङलाई ११ चैत २०८१ मा प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो । त्यसका विरुद्धमा सर्वोच्च अदालत गए पनि उनले पुन:स्थापनाको आदेश पाएन।
पदमुक्त भएपछि उनले कुनै राजनीतिक पार्टी प्रवेश नगरे पनि उज्यालो नेपालका नाममा राजनीतिक गतिविधि भने गरिरहेका थिए । विगतमा उनलाई माओवादी निकट कर्मचारीका रूपमा चित्रित गरिए पनि अवकाशपछि भने उनले स्वतन्त्र रूपमा राजनीतिक अभियान सञ्चालन गर्दै आएका छन।
उनी पछिल्लो जेन-जी आन्दोलन चलेका बेला सडकमा पनि आफ्ना समर्थकहरूसहित उपस्थित भएका थिए।
रामेछापको बेथानमा जन्मेका घिसिङले विद्यालय शिक्षा काठमाडौंबाटै हासिल गरेका थिए। उनले भारतको एनआईटी जमसेदपुरबाट विद्युत् इन्जिनियरिङमा स्नातक, पुल्चोक क्याम्पसबाट पावर सिस्टममा स्नातकोत्तर र पोखरा विश्वविद्यालयबाट एमबीए गरेका छन।













