Sunaulopana
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Sunaulopana
No Result
View All Result
Home FEATURE

एघारौँ महाधिवेशनको उद्घाटनसत्रमा ओलीको सम्बोधन (पूर्णपाठसहित)

सुनाैलाे पाना  सुनाैलाे पाना
मंसिर २७, २०८२
in FEATURE, मुख्य समाचार
0
एघारौँ महाधिवेशनको उद्घाटनसत्रमा ओलीको सम्बोधन (पूर्णपाठसहित)
218
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं, २७ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमाथि प्रहार हुनुको कारण केलाएका छन् । पार्टीको ११औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो सुनाएका हुन् । आफूहरुले ‘देशहरु भूगोलमा साना या ठूला होलान्, तर सार्वभौमसत्ता बराबर हो । कतिलाई लाग्छ, सानो देशले हामीसँग बराबरी गर्न खोज्ने ?’ यसो भन्दा आफूहरुमािथ प्रहार भएको उनको भनाई छ । उनले संविधान बनाउने अधिकार आफूहरुको हो भनेर भन्दापनि कतिलाई मन नपरेको र आफूहरुमाथि प्रहार भएको सुनाए ।

उनले भनेका छन्,‘मी सार्वभौम मुलुकका रुपमा संविधान बनाउने अधिकार हाम्रो हो । विकासको कुन बाटो रोज्ने भन्ने छनोट हाम्रो हो । कस्तो राजनीतिक प्रणाली बनाउने भन्ने निर्णय गर्ने अधिकार हाम्रो हो भन्छौँ । कतिलाई मन पर्दैन । अनि हामीमाथि प्रहार हुन्छ ।’

यस्तो छ ओलीको लिखित सम्बोधनको पूर्णपाठ

तपाईँहरुलाई सुन्दर नगरी भक्तपुरमा हार्दिक स्वागत गर्दछु ।

भक्तपुर– गौरवपूर्ण इतिहास र संस्कृति बोकेको विश्व सम्पदा,

हरेक लोकतान्त्रिक आन्दोलनमा बलिदानको कीर्तिमान राखेको देशभक्त नागरिकहरुको बासस्थान, परिश्रमी र इमान्दार किसानहरुका पसिनाले सिँचित उर्बर भूमि,

यस ऐतिहासिक नगरीमा तपाईँहरुको यो भव्य उपस्थिति देखेर म गौरवान्वित भएको छु ।

सम्झिरहेको छु, ३ महिना अगाडिका ती कहालीलाग्दा दिनहरु– जतिबेला देश युद्धभूमि जस्तै जलिरहेको थियो,

जतिबेला संविधान, लोकतन्त्र र यसका आधारस्तम्भ राजनीतिक दलहरुमाथि भीषण हमला गरिएको थियो,

र एउटा भाष्य निर्माण गर्ने कोशिस भइरहेको थियो– पुराना पार्टीहरु सकिए, नेताहरुका दिन गए । एमालेको सान्दर्भिकता समाप्त भयो ।

धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, नेकपा (एमाले) अजम्बरी छ ।

मङ्सिरको चिसो सिरेटो पञ्छाउँदै यहाँ आउनु हुने तपाईँहरु सबैलाई फेरि पनि हार्दिक स्वागत छ ।

नेपालका प्रत्येक वडा–वडा, टोल–टोल, हिमाल–पहाड–तराई र प्रवाससम्म छरिएको एमालेको महासागरका अगाडि यो सभामा जम्मा भएका हामी केही थोपा मात्रै हौँ ।

तर, यिनै थोपा भित्रको साहस, भरोसा, माया, अनुशासन र उत्साहसहित उभिएको यो उपस्थिति गर्वको विषय हो ।

दाजुभाइ दिदीबहिनीहरु,

आजबाट हामी हाम्रो पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशन सुरु गर्दैछौं । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएयता हामीले ७७ वर्ष व्यतीत गरेका छौँ ।

ती ७७ वर्षहरु, जसमा हामीले प्रत्येक दिन देशका निम्ति खर्चेका छौँ । जनताका निम्ति सुम्पेका छौँ ।

देशको सार्वभौमसत्ता, राष्ट्रियता, राष्ट्रहित र स्वाभिमानका लागि हरपल अर्पेका छौँ । जनताका अधिकार, न्याय र सुख एवं समृद्धिका लागि समर्पित गरेका छौँ ।

नेकपा (एमाले)जस्तो देशभक्त र नेपाली जनताको हितमा समर्पित पार्टीलाई अब निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्ने दृढ संकल्पका साथ हामी अघि बढिरहेका छौं । र, यो एघारौँ महाधिवेशन यस महान् अभियानरुपी यात्रामा एउटा नयाँ मोडको रुपमा भव्यताका साथ आयोजना गरिरहेका छौं । हाम्रा नीतिहरु स्पष्ट छन् । यी नीतिहरु कार्यान्वयन गर्ने सुदृढ, व्यापक र दृढ संकल्पित लोकप्रिय पार्टी र संगठन हामीसँग छ ।

म हाम्रो पार्टीका संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी, प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी लगायत ती सबै अग्रजहरु, शहीदहरु, योद्धाहरु र आन्दोलनमा वर्णन नै गर्न नसकिने कष्ट सहनु हुने न्यायप्रेमी जनसमुदायप्रति हार्दिक श्रद्धा अर्पण गर्न चाहन्छु, जसको बलिदान बिना हामी यहाँ आइपुग्नै सक्दैनथ्यौँ ।

तपाईँहरुलाई साक्षी राखेर सङ्कल्प गर्छु– हामी उहाँहरुको आदर्श र बलिदानलाई कहिल्यै बिर्सने छैनौँ ।

यति लामो यात्रामा हामीले कहिल्यै गल्ती गरेनौँ या हामीबाट कमजोरी रहेन भन्ने होइन, तर हाम्रो निष्ठा, समर्पण र इमानप्रति हामीलाई गौरव छ ।

कम्युनिष्ट पार्टीको यही बलिदानी सङ्घर्षका बलमा आज मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरित भएको छ ।

सात सालको क्रान्तिमा कम्युनिष्ट पार्टी भर्खरै स्थापना भएको थियो । यसको नेतृत्वदायी भूमिका नहुँदा क्रान्ति अधुरो रह्यो ।

२०४६ सालमा कम्युनिष्ट पार्टी सबल र संयुक्त नेतृत्व गर्ने ठाउँमा विकसित भएको थियो, आन्दोलनले राजाको निरङ्कुशता र पञ्चायती तानाशाहीलाई अन्त्य गर्‍यो ।

२०६२/०६३ मा कम्युनिष्ट पार्टी नेतृत्वदायी भूमिकामा रह्यो, तसर्थ राजतन्त्र अन्त्य भयो, गणतन्त्र स्थापना भयो र जनताको हातले संविधान लेखियो । त्यतिबेला अरु पार्टीहरुका भूमिका तपार्इँहरुको सम्झनामा ताजै छन् ।

त्यसैले भन्न सक्छौँ– कम्युनिष्ट पार्टी जति जति बलियो हुन्छ, त्यति त्यति लोकतन्त्रले पूर्णता पाउँछ । राष्ट्रिय स्वाभिमान सुदृढ हुन्छ । समृद्धिको यात्रा अगाडि बढ्छ ।

आज हामी पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा सुदृढ गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य हासिल गर्न अगाडि बढ्न चाहन्छौँ ।

कमरेडहरु, दाजुभाइ दिदीबहिनीहरु,

आठ दशकको यस गौरवशाली यात्रामा हामीले केही बिरासतहरु, केही मानकहरु, केही पहिचानहरु बनाएका छौँ ।

नेकपा (एमाले) अर्थात् राष्ट्रियताको पहरेदार, देशभक्तिपूर्ण आन्दोलनको नायक ।

नेकपा (एमाले) अर्थात् लोकतान्त्रिक आन्दोलनको अग्रपङ्क्तिको योद्धा, यसको अभेद्य किल्ला ।

नेकपा (एमाले) अर्थात् सामाजिक न्याय र सामाजिक सुरक्षाको ‘पायनियर’, जसका कारण आज ३८ लाख नागरिकहरुले जीवनमा एउटा सहारा पाउनु भएको छ ।

नेकपा (एमाले) अर्थात् सामाजिक सद्भाव र राष्ट्रिय एकताको संबाहक, जसले विभिन्न बहानामा समाजलाई विखण्डित गर्ने र जनतालाई विभाजित गर्ने कुचेष्टालाई असफल पार्दै आएको छ ।

नेकपा (एमाले) अर्थात् समावेशिताको अगुवा, जसले राज्यका हरेक अङ्गमा न्यूनतम एक तिहाइ महिला सहभागिता सहित दलित, अल्पसङ्ख्यक र पछाडि पारिएका समुदाय, क्षेत्र र वर्गलाई मूलधारमा ल्याउन अग्रणी भूमिका खेलेको छ ।

नेकपा (एमाले) अर्थात् नेपाली विशेषता सहितको समाजवाद निर्माणको अभियन्ता, जनताको बहुदलीय जनवाद जस्तो नवीनतम सोचको संवाहक र परिपूर्ण लोकतन्त्रको भाष्यकार ।

नेकपा (एमाले) अर्थात् गाउँमुखी र जनसहभागितामूलक विकासको अग्रणी, ठूला पूर्वाधार निर्माणको पहलकर्ता, भूकम्पपछिको पुनर्निर्माणको सफल अभियन्ता ।

नेकपा (एमाले) अर्थात् मानवतावाद, न्याय, संयुक्त राष्ट्र संघको वडापत्र, पञ्चशीलको सिद्धान्त र हामी पक्ष भएका अन्य अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरुको पालना र विश्व शान्तिमा आधारित विदेश नीति रहेको पार्टी ।

नेकपा (एमाले) अर्थात् असल, विश्वसनीय छिमेक सम्बन्ध र पारस्परिक हित र सम्मानका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने पार्टी ।

नेकपा (एमाले) अर्थात् समृद्धिको स्वप्नद्रष्टा र परिकल्पनाकार, जसले भन्छ– प्रकृतिको यति सुन्दर बरदान पाएको र संस्कृतिको धनी नेपाल गरिब रहनै सक्दैन, हामी आफ्नै पौरख र बलमा समृद्ध बनाइ छाड्छौँ ।

आजको अन्तरनिर्भरताको समयमा पनि हामी सकेसम्म आत्मनिर्भर अर्थतन्त्रको पक्षमा छौं । यसका निम्ति कृषिको आधुनिकीकरण र व्यवसायिकीकरण, अर्थतन्त्रको औधोगिकरण र आधुनिकीकरण, आर्थिक उन्नतिका लागि पूर्वाधारको विकास, विकासका लागि प्रविधिको नवीन प्रयोग– हाम्रा नीति हुन् ।

हामी सपना मात्रै देख्दैनौँ, सपना मात्रै बाँड्दैनौँ– प्रत्येक दिन यस यात्रामा एक पाइला अघि बढ्छौँ । हामीले नेतृत्व गर्दा मुलुकले हासिल गरेको आर्थिक वृद्धि र अल्पविकसित अवस्थाबाट नेपालको स्तरोन्नतिका निम्ति भएका कामले स्पष्ट पार्छन् ।

बिरासतको यो सूची लामो बनाउन सकिन्छ, तर मलाई विश्वास छ– एमालेको पहिचानको त्यो सूची तपाईँहरुको मनभित्रै कुँदिएको छ, तब त सबै वाधा छिचोलेर तपाईँहरु यहाँ आउनु भएको छ ।

यिनै बिरासतले गर्दा आज पनि यो पार्टी जनताको मन मनमा छ, मुटु मुटुमा छ ।

हामी राजनीतिलाई एक्लै र लोकतन्त्रलाई राजनीतिको घेराभित्र मात्रै सीमित राख्दैनौं । त्यसैकारण हामी परिपूर्ण लोकतन्त्रको पक्षमा छौं । राजनीति, सिंगो नेपाल र सबै नेपाली जनताको सुरक्षा, सम्मान र उन्नतिका लागि हुनु पर्दछ । राजनीति, मानव र मानव संशाधनको विकास र खुशहालीसँग सम्बन्धित हुनु पर्दछ । हाम्रो राजनीति हाम्रा लागि मात्रै होइन, विश्व शान्ति, विश्व वातावरण र विश्वव्यापी रुपमा सामाजिक न्याय, समानता र मानव अधिकारको पक्षमा हुनु पर्दछ–‘बसुधैव कुटम्बकम् ।’

तर हामी माथिका प्रहार पनि कम्ती छैनन् ।

हामी भन्छौँ– देशहरु भूगोलमा साना या ठूला होलान्, तर सार्वभौमसत्ता बराबर हो । कतिलाई लाग्छ, सानो देशले हामीसँग बराबरी गर्न खोज्ने ?

प्रहार हुन्छ ।

हामी जन्मजात श्रेष्ठताका आधारमा शासन गर्ने व्यवस्था सामन्ती हो, सबै नागरिक बराबरी हुन् र आजको युगमा अनिर्वाचित सत्ता हामीलाई मञ्जुर छैन भन्छौँ ।

प्रहार हुन्छ ।

हामी हिंसा या युद्ध समाज परिवर्तनको साधन हुन सक्दैन भन्छौँ, जनताको मन जितेर शान्तिपूर्ण ढङ्गले पनि समाज बदल्न सकिन्छ भन्छौँ ।

हामीमाथि प्रहार हुन्छ ।

हामी विविधता र बहुलता हाम्रो सम्पदा हो, दूरी बढाउने विषय होइन भन्छौँ ।

हामीमाथि प्रहार हुन्छ ।

हामी सार्वभौम मुलुकका रुपमा संविधान बनाउने अधिकार हाम्रो हो । विकासको कुन बाटो रोज्ने भन्ने छनोट हाम्रो हो । कस्तो राजनीतिक प्रणाली बनाउने भन्ने निर्णय गर्ने अधिकार हाम्रो हो भन्छौँ । कतिलाई मन पर्दैन ।

अनि हामीमाथि प्रहार हुन्छ ।

हामी रात जतिसुकै लामो भए पनि उज्यालो हुन्छ भन्ने विश्वास गर्छौँ । सशस्त्र द्वन्द्व, सङ्क्रमणकाल र भूकम्प जस्ता चुनौतीका बीचमा पनि मुलुकले गरिरहेको प्रगतिलाई देख्छौँ । कमजोरीलाई पनि महसुस गर्छौँ । मुलुक बन्छ र बन्दैछ भन्ने भरोसा राख्छौँ । निराशा र नकारात्मकताका अभियन्ताहरुलाई यो मन पर्दैन ।

अनि फेरि हामीमाथि प्रहार हुन्छ ।

हामी कमजोर भयौँ भनेमात्र नेपालको राष्ट्रिय स्वाधीनता कमजोर हुन्छ भनेर कसैले गणित मिलाइरहेका छन् ।

हामी नढलुन्जेल, हाम्रो शिर नझुकेसम्म नेपालको स्वाभिमान सीधै रहन्छ । त्यसैले हामीमाथि आक्रमण भइरहेको छ ।

हामीविरुद्धका शक्तिहरू विभिन्न रङ्गमा अगाडि आउँछन्—

कहिले असन्तुष्टि पोख्दै, कहिले परिवर्तनको नारा बोकेर । कलर/कलरमा– कलर रेभोलुशन भन्दै देखा पर्छन् ।

तर तिनको भित्री लक्ष्य एउटै छ— हामीलाई विभाजन गर्ने, कमजोर बनाउने, अलमल्याउने र दिशाहीन बनाउने ।

एकपटक सम्झनुस् त !

हामीले संविधान जारी गर्‍यौं, त्यसपछिको तीब्र प्रतिक्रियाले भन्छ–– हामीले लिएको अडान कतिलाई मन परेको थिएन ।

भूपरिवेष्ठित मुलुकहरूलाई भू–जडित बनाउन गरिएको यातायात–पारवहन सम्झौता पनि धेरैलाई पचेको थिएन । उत्तर–दक्षिण जोड्ने कनेक्टिभिटी खुलोस्, नेपाल आफैँ हिँड्न सक्ने बनोस् भन्ने हाम्रो चाहना धेरैलाई मन परेको थिएन ।

सीमाको रक्षा र आफ्नै भू–भागमाथिको सार्वभौमसत्ताको दाबी स्पष्ट गर्दा पनि कतिलाई सहज लागेकै थिएन ।

यही कारणले, बारम्बार हाम्रो पार्टी प्रहारको निशानामा परेको छ ।

आखिर खयरको बोटमा कसले ढुङ्गा हान्छ र ? ढुङ्गाको चोट खाने त बाटो छेउको आँपको बोटले त हो नि ।

दाजुभाइ दिदीबहिनीहरु,

यति धेरै प्रहार सहेपछि पनि यो पार्टी सतिसालझैँ ठिङ्ग कसरी उभिरहन्छ ? यति धेरै शक्ति कहाँबाट आउँछ ?

यस प्रश्नको उत्तर म यही मैदानमै खोज्न चाहन्छु ।

एकछिन्— आफ्नै गाउँ/ ठाँउमा, सहरका टोल/ टोलमा, टारीको छेउमा, ओडारको चिसोमा बसेर संगठन जोगाइरहेका आफ्नै साथीहरू सम्झनुस् त ! त्यसपछि आफैँ महसुस गर्नुहुनेछ— संकटको बेलामा ढल्ने होइन, अड्ने साहस यस पार्टीले यत्तिका वर्ष कहाँबाट बटुलेको रहेछ ?

भदौ २३/२४ को घटनालाई सम्झौँ न ।

भदौ २४ को त्यो उन्माद के असन्तुष्ट समूहको प्रदर्शन मात्रै थियो ? कि त्यसको आडमा अर्को ठूलो खेल चलिरहेको थियो ?

त्यस उपद्रवको लक्ष्य सरकार परिवर्तन मात्रै थियो ? कि त्यसभित्र राज्यको मेरुदण्ड नै भाँच्ने योजना पनि लुकेको थियो ?

भ्रममा पर्नै हुन्न– स्थिरताको बाहक बनिरहेको, संवैधानिक प्रक्रियाबाट बनेको सरकार हटाउन त देशलाई खरानी पार्नै पर्थेन । संसदबाटै त्यो काम गर्न सकिन्थ्यो, या अर्को निर्वाचन कुर्न सकिन्थ्यो । तर यो त संविधान, संवैधानिक प्रक्रिया र ७ दशक लामो कठिन संघर्षको उपलब्धिका रूपमा प्राप्त हाम्रो लोकतन्त्रलाई ध्वस्त पारेर शून्यता सिर्जना गर्ने, अस्थिरता बढाउने र राज्यविहीनताको अवस्थामा पुर्‍याउने दीर्घ तयारीसहितको गम्भीर षडयन्त्र थियो ।

तर यसो भनिरहँदा एउटा कुरा स्पष्ट पारौँ—

सामाजिक सञ्जाल खुल्ला होस्, भ्रष्टाचार नियन्त्रण होस्, राज्यमा सुशासन कायम होस् —जेनेरेशन–जेड या नवयुवाहरुले उठाएका यी मागप्रति कसैको पनि असहमति थिएन ।

यी त हामी स्वयंले वर्षौँदेखि उठाउँदै र कार्यान्वयन गर्दै आएका एजेन्डा थिए ।

सामाजिक सञ्जाल बन्द गर्ने होइन— कानुनी दायराभित्र, देश र नागरिकको सुरक्षाको हिसाबले नियमन गर्ने मात्रै हाम्रो चाहना थियो ।

नव–युवाहरूले प्रशासनलाई संविधानले दिएको अधिकार प्रयोग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्ने बचन दिएका थिए । प्रशासनले अनुमति पनि दिएकै थियो ।

तर दु:खको कुरा—

त्यो कार्यक्रममा घुसपैठ भयो ।

विभिन्न स्वार्थ समूह प्रवेश गरे ।

अनि, हिंसा र तोडफोड त के, फूलको हाँगा पनि भाँच्दैनौँ र निषेधित क्षेत्र तोड्दैनौँ भन्ने प्रतिबद्धता व्यक्त गरेका युवा विद्यार्थीहरुलाई अगाडि लगाएर निषेधित क्षेत्र तोड्ने, संसद भवनमा आगजनी र तोडफोड गर्न दुरुत्साहन गर्ने र त्यसैका आडमा आफ्नो निहित स्वार्थ पूरा गर्न हिंसा भड्काउने तत्वका कारण युवा—विद्यार्थीहरुको ज्यान जाने दु:खद् एवम् अकल्पनीय परिस्थिति सिर्जना भयो ।

भदौ २३ गते गोली लागेर ज्यान गुमाएका युवा,

भदौ २४ गते अराजक भीडको आक्रमणमा परी मारिएका सुरक्षाकर्मी र नागरिक—सबैप्रति म यस विशाल सभाको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।

घाइते युवाहरू, परिवारका सदस्यहरू, पीडित बुबाआमा, दिदीबहिनी, दाजुभाइ, सबैप्रति गहिरो समवेदना व्यक्त गर्दछु— शरीर र मन दुवैको चोट चाँडै निको होस् भन्ने कामना गर्दछु ।

साथीहरू,

भदौ २३ गते शान्तिपूर्ण भनिएको प्रदर्शन हिंसात्मक हुँदा सिर्जित दु:खद् परिणामप्रति गम्भीर हुँदै, तत्कालीन गृहमन्त्रीले राजीनामा गरिसक्नुभएको थियो । त्यसै दिनको मन्त्रिपरिषद्को बैठकबाट घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा आयोग गठन गर्ने निर्णय पनि भइसकेको थियो ।

असामान्य परिस्थितिप्रति सरकार गम्भीर र संवेदनशील थियो ।

तर राज्यविरुद्ध आक्रमणको योजना बनाएका तत्वहरुलाई यी कदम पर्याप्त भएनन् । उनीहरुलाई त देश दहन गर्ने अगुल्टो चाहिएको थियो ।

परिणामत: भदौ २४ को भयानक दिन देशले भोग्नुपर्‍यो ।

कार्यपालिकाका वडा कार्यालयदेखि केन्द्रीय प्रशासनिक भवनसम्म,

व्यवस्थापिकाका पालिकादेखि संघीय संसद भवनसम्म,

र न्यायपालिकाका जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म—

राज्यका तीनवटै अंगमाथि एकैसाथ आक्रमण गरियो ।

दलीय व्यवस्थाका आधारस्तम्भ पार्टीका कार्यालयहरू ध्वस्त पारिए ।

होटल, व्यापारिक प्रतिष्ठान र व्यवसायिक व्यक्तिहरुका निजी सम्पत्ति ध्वस्त पार्दै अर्थतन्त्रको मेरुदण्ड भाँचियो ।

शान्ति–सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि भयानक प्रहार भयो— कुटपिट मात्रै होइन, निर्ममतापूर्वक हत्या समेत गरियो ।

१२ सयभन्दा बढी हतियार खोसिए, झन्डै एक लाख गोलीगठ्ठा र विविध सामग्री लुटिए । सुरक्षाकर्मीका पोशाक मात्र लुटिएनन्, तिनको अपमान र दुरुपयोग समेत गरियो ।

जेलको ढोका फोरेर १४ हजारभन्दा बढी कैदीबन्दी भगाइए ।

नेता/कार्यकर्ताहरूका निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट मच्चाइयो ।

यसरी, राष्ट्रपति भवनदेखि सिंहदरबार जस्ता राष्ट्रिय सम्पदाहरू–

शहीदका सालिक, लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनका स्मारक, आश्रम र स्मृति भवन समेत १६ सयभन्दा बढी संरचना एकैपटक आगो, ढुंगा र लुटपाटको निशाना बने ।

यी सबै घटनाहरू प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि भए ।

त्यसैले ती घटना केवल सरकार परिवर्तनका लागि गरिएका दबाब थिएनन्;

ती त मुलुकको राष्ट्रियता, लोकतन्त्र, संविधान, अर्थतन्त्र, नेपाली संस्कार र एकतालाई खल्बल्याउने र गम्भीर रूपमा घाइते पार्ने योजनाबद्ध कदमहरू थिए ।

जतिबेला, राष्ट्रिय सम्पदा र निजी सम्पत्तिमाथि आगो झोस्ने कामलाई नै “आन्दोलन”, “बिद्रोह” र “क्रान्ति”का रूपमा महिमामण्डित गरिँदै थियो,

त्यही भिडको फुटेज देखाएर— कोही सत्ता, कोही सौदा, र कोही सहानुभूति बटुल्दै थिए ।

त्यतिबेला एमाले मात्रै यस्तो पार्टी रह्यो जसले सुरुदेखि नै स्पष्ट भन्यो— यो हाम्रो व्यवस्थामाथिको आक्रमण हो, यो देशमाथिको प्रहार हो ।

साथीहरू,

राज्यको सिंगो प्रणाली तहसनहस पार्न खोजिएको त्यस घडीमा केही समय हामी पनि सुरक्षित स्थानमा रही समीक्षारत रह्यौं । नेताहरू, समाजका अगुवाहरू मारियून्, समाप्त होउन् भन्ने चाहना गर्ने कोही–कोहीले आज व्यंग्य गरेको सुनिन्छ— “हेलिकप्टर चढेर भागे” ।

महाभारतमा पाण्डवहरूलाई लाक्षागृहमा थुनेर आगो लगाइयो, पाण्डवले सुरुङ खनेर बच्नुपर्‍यो ।

इतिहासले दोष कसलाई दियो— आगो बाल्ने दुर्योधन–शकुनीलाई कि आगोबाट बच्न खोज्ने पाण्डवलाई ?

प्रश्न त्यत्ति न हो !

त्यो महाविनाश— न हामीले विर्सेका छौँ, न विर्सनेछौँ ।

दोहर्‍याएरै भन्छु–– … नर्बिसौं !!!

अहिलेलाई यत्ति मात्र—

त्यस दिनको महाविनाशको छानबिन होस्,

दोषी पहिचान होस्,

अपराधीले सजाय पाउँन् !

साथीहरू,

त्यो असामान्य परिस्थितिमा थप क्षति नहोस् भनेर मैले राजीनामा दिएँ ।

देश अन्योलमा थियो । त्यो अन्योल चिर्न संवैधानिक बाटोबाट निकास दिन हामीले विकल्पहरू स्पष्ट राख्यौँ ।

यदि संसदभन्दा बाहिरको व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्ने भए, दलहरूबीच सहमति हुनुपर्छ— संसदमार्फत संविधान संशोधन गर्नुपर्छ ।

प्रतिनिधिसभा विघटन हुनुहुँदैन !

यही हाम्रो दृढ अडान थियो ।

कामचलाऊ प्रधानमन्त्रीको नाताले मैले संवैधानिक निकासको बाटो देखाएको थिएँ ।

तर देशलाई उल्टो दिशामा लगियो— संविधानको बाटो छाडेर बाहिरबाट सरकार गठन गरियो । अनधिकृत व्यक्तिबाट प्रतिनिधिसभा विघटन गरियो ।

त्यसैले हामी भन्छौँ— अनधिकृत सिफारिसमा प्रतिनिधिसभा विघटन असंवैधानिक छ, गलत छ ।

जनताले चुनेका प्रतिनिधि घर फर्काउनु भनेको जनतालाई नै राजनीति बाहिर धकेल्नु हो ।

यस्तो कामले लोकतन्त्र बलियो हुँदैन ।

त्यसैले— प्रतिनिधिसभा विघटन मान्य छैन ।

हाम्रो माग स्पष्ट छ— प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना होस्, देश संविधान र लोकतन्त्रको बाटोमै फर्कियोस् ।

सरकारलाई फागुन २१ मा चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश छ ।

चुनावको मिति तोकिएको छ, तर के तयारी कतै छ ?

अहँ देखिँदैन !

चुनाव चाहने सरकार के गर्थ्यो ?

सबै दलको विश्वास जित्थ्यो । निर्णयमा पारदर्शिता देखाउँथ्यो । सभा–जुलुस खुला गर्थ्यो ।

दलका गतिविधि प्रोत्साहित गर्थ्यो ।

चुनावको अनिवार्य शर्तका रुपमा रहेको निर्भयताको वातावरण निर्माण गर्थ्यो ।

तर अहिले के भइरहेको छ ?

संवादको सट्टा निषेध,

बहसको सट्टा मुद्दा,

प्रतिस्पर्धाको सट्टा धम्की,

नेताको राहदानी रद्द र स्थान– हद … निषेधाज्ञा !

यसरी चुनावको वातावरण बन्छ कि डरको ?

मतदानको स्वतन्त्रता सुरक्षित हुन्छ कि दबाब र आतङ्क बढ्छ ?

जनताले चाहेको कुरा स्पष्ट छ—

साँचो प्रतिस्पर्धा,

स्वतन्त्र चुनाव र

निष्पक्ष वातावरण !

हाम्रो पनि भनाइ यही हो—

डर, दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट कहाँ भाग्छ ?

तर अहिले कहाँ चुनाव हुँदैछ र ?!

चुनावको कुरा मात्र भइरहेको छ !

त्यसैले हाम्रो अडान छ– प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ ।

म उपस्थित सबै दलका नेता गणलाई पनि लोकतन्त्रमाथिको यो प्रहार, संविधानमाथिको यो आघात र राष्ट्रमाथिकै यस सङ्कटलाई बोध गरेर, यसबाट रत्तिभर विचलित नभइ सहकार्यका साथ अगाडि बढ्न आह्वान गर्छु ।

प्रिय युवा साथीहरु,

अहिले केही व्यक्तिहरु नेकपा (एमाले) र प्रतिष्ठित राजनीतिक दलहरुलाई ‘जेन्जी विरोधी’ आरोपित गर्दै तपार्इँहरु र हामीलाई भिन्न धारमा उभ्याउन कोशिस गरिरहेका छन् ।

उनीहरुको यस्तो प्रयास नौलो होइन ।

३० वर्ष अगाडिसम्म हामीलाई बृद्धबृद्धा विरोधी पार्टी भनेर आरोपित गरिन्थ्यो ।

हामीले व्यवहारबाटै खण्डित गर्‍यौँ ।

सशस्त्र हिंसा सुरु भएपछि हामीलाई क्रान्ति विरोधी भनेर आरोपित गरियो । हामीले त्यस आरोपको मिथ्यापनलाई पनि तथ्यहरुबाटै पुष्टि गर्‍यौँ ।

एक अवस्था आयो– हामीलाई पहिचान विरोधी, मधेस विरोधी, जनजाति विरोधी बिल्ला भिराउने कोशिस भयो ।

हामीले व्यवहारबाट त्यस भाष्यलाई चिर्‍यौँ, आज नेकपा (एमाले) मधेस प्रदेशसभामा सबैभन्दा ठूलो दलका रुपमा स्थापित छ । हाम्रो पार्टी साम्प्रदायिक विद्वेषमा होइन, विविधताबीच राष्ट्रिय एकताको पक्षमा छ ।

सबै हतियारमा खिया लागेपछि हामीलाई आज जेन्जी विरोधी भनेर भ्रमित गर्ने कोशिस गरिरहेको छ ।

तर यो भ्रम निराधार छ ।

जुन पार्टीले आफ्ना सबै पार्टी संरचनामा नयाँ युवालाई स्थापित गर्न विशेष व्यवस्था नै गरेको छ, त्यो पार्टी कसरी नयाँ पुस्ता विरोधी हुन सक्छ ?

जसले सरकारमा हुँदा उद्यमशीलता सिकेर केही गर्न चाहने युवाको आँखाका आशालाई हेरेर सीप विकास कार्यक्रम विस्तार गर्‍यो, उत्पादन र बजार जोड्ने व्यवस्था मिलायो, स्टार्टअप कार्यक्रम अघि बढायो । त्यो कसरी जेन्जी भन्दा टाढा हुन सक्छ ?

जसले सरकारमा हुँदा डिजिटल नेपाल फ्रेमवर्क र एआई नीतिलाई प्राथमिकतामा राख्यो– कसरी तपार्इँहरु भन्दा फरक हुन सक्छ ?

हामी चाहन्छाँै–

नेपाली युवाले प्रविधि हातमा लिएर यहीँ बसेरै विश्वसँग प्रतिस्पर्धा गर्न सकोस् ।

नयाँ रोजगारी सिर्जना होस्,

नवप्रवर्तन जन्मियोस्, नयाँ अवसरको ढोका खुलोस् ।

त्यसैले जेन्जीका नाममा स्वार्थको रोटी सेकिरहेका तत्वहरुले फिंजाएको भ्रमबाट मुक्त हुन म साथीहरुलाई आग्रह गर्दछु ।

म हाम्रा युवाहरूलाई यो पनि स्मरण गराउन चाहन्छु —

प्रविधि जति अगाडि बढे पनि, तपाईंहरूको सुरक्षित भोलि —

लोकतन्त्र, संविधान, शान्ति र राजनीतिक स्थायित्वमाथि नै निर्भर छ ।

यसका लागि दलहरु अनिवार्य पक्षहरु हुन् । कुनै दल मन नपर्न सक्छ, अर्कोमा जोडिन सकिन्छ । या आफैँ दल खोल्न पनि सकिन्छ । तर विचारका आधारमा स्थापना भएका, लामो इतिहास भएका र आन्दोलनको अग्निपरीक्षामा खारिएका दलहरुलाई कमजोर गरेर देश बन्दैन ।

विचार बिनाका दल र उत्तरदायित्व बिनाका पात्रहरुले अन्ततोगत्वा मुलुकलाई सङ्कटको भुँवरीमा होम्छन् ।

प्रिय कमरेडहरु, साथीहरु,

हाम्रो महाधिवेशन लोकतान्त्रिक अभ्यास, वैचारिक गन्तव्यप्रतिको स्पष्टता र एकताको एउटा उदाहरणको रुपमा आयोजना भइरहेको छ । यस्तो परिस्थितिमा हामी हरेकले गहिरो जिम्मेवारी बोधका साथ पार्टीलाई कुनै प्रकारको क्षति हुन नदिनु र उन्नत एकता कायम गर्नु जरुरी छ ।

यसमा सबैको ध्यान जानेछ भन्ने मैले विश्वास लिएको छु ।

अर्को कुरा, हामी कसैको कुनै पनि कार्यक्रम बिथोल्ने, बाधा व्यवधान पुर्‍याउने काम गर्दैनौं । कसैले पनि अरुका कार्यक्रममा व्यवधान उत्पन्न गर्नु सभ्य र लोकतान्त्रिक आचरण होइन । मैले विश्वास लिएको छु,–एमालेका कार्यक्रमहरु बिथोल्न कसैले पनि प्रयास गर्ने छैन ।

म नेपालका सम्पूर्ण राजनीतिक दलहरु, अन्य संघसंस्थाहरु, नागरिक समाज, मिडिया र आम जनसमुदायलाई आजको असहज परिस्थितिको मिलेर समाधान गर्न यस मञ्चबाट आग्रह गर्दछु ।

साथीहरुलाई स्पष्ट हुन म आग्रह गर्छु ।

आजको हाम्रो सङ्घर्ष– जेन्जी पुस्ता र पाको पुस्ता बीचको हुँदै होइन ।

पुराना दल र नयाँ पुस्ता बीचको पनि हुँदै होइन ।

सङ्घर्षको केन्द्रबिन्दु त देश बनाउने र देश जलाउने बीचको हो ।

मलाई विश्वास छ, आजको नयाँ पुस्ता सधैंभरि देश बनाउने कित्तामा उभिने छ ।

निश्चय नै, तपाईँहरुको अपेक्षा र राज्यको डेलिभरी क्षमता बीचमा ग्याप छ ।

तपाईँहरु प्रविधिमा अभ्यस्त हुनुहुन्छ र चाहनुहुन्छ– एक क्लिकमा काम होस्, सेवा दिनका लागि लम्बेतानको लाइन, फाइलहरुको भीड र कर्मचारीहरुको ढिलासुस्तीबाट मुक्त हुन पाइयोस् ।

अवसरहरु सबैका लागि बराबर होउन् ।

आफन्तवाद र भ्रष्टाचारको जालो चुँडाउन सकियोस् । योग्यताका आधारमा छनोट होस् ।

तपार्इँहरुका अपेक्षा बिल्कुल जायज छन् ।

यस दिशामा केही उपलव्धि पनि भएका छन् ।

तर थुपै्र काम गर्न बाँकी छ ।

तर ती बाँकी काम देखेर या अन्याय देखेर आक्रोशित हुनु स्वाभाविकै हो ।

तर त्यो आक्रोश रचनात्मक ढङ्गले प्रयोग हुनुपर्छ, जसरी पहाडबाट बगिरहेको खोला बाँधमा बाँधिएर, पेनस्ट्रक पाइपमा छिरेर, टर्बाइनमा पुग्दा ऊर्जाको उज्यालोमा रुपान्तरित हुन्छ ।

नत्र त त्यसले बाढी बनेर बस्ती बगाउँछ, विपत्ति सिर्जना गर्छ ।

तपाईंको जायज गुनासोलाई हिंसा र विध्वंशको इन्धन बनाउन खोज्नेहरुबाट जोगिनुहोस् ।

तपाईंहरूका जायज आवाजको आडमा देशको विरुद्ध हिंसा र सत्ता–स्वार्थको रोटी सेक्नेलाई चिन्नुहोस् ।

देशका संरचना जलाई खरानी बेच्नेहरूको जालबाट जोगिनुहोस् ।

म युवा पुस्तालाई भन्न चाहन्छु —

असहमति राख्नुस्,

आलोचना गर्नुस्,

जवाफ माग्नुस् ।

तर एउटा कुरा नबिर्सनुस्—

आफ्नो संस्कृतिमा र सभ्यतामा गर्व गर्ने,

सही सिद्धान्त र देश बदल्ने सपना बोकेका दलबिना लोकतन्त्र सम्भव छैन ।

यसै मञ्चबाट म सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई आह्वान गर्छु—

जहाँ सकिन्छ त्यहाँ, युवालाई अगाडि सारौँ;

उनीहरूको कुरा ध्यान दिएर सुनौँ;

उनीहरूको जायज एजेन्डालाई उचित स्थान दिऔँ ।

युवा पुस्तासँगको हाम्रो सहकार्य भावनात्मक मात्र होइन—

यसको आधार छ—

सिद्धान्तमा दृढ, अनुशासन र आपसी एकता भएको पार्टी ।

साथीहरू,

आज हामी सबैभन्दा बढी के कुराको अभाव महसुस गरिरहेका छौँ ?

उत्तर हो— सुरक्षा ।

सुरक्षा – राज्यले प्रत्येक नागरिकलाई दिनै पर्ने प्रशासनिक सुरक्षा त हुँदै हो,

त्यसका अतिरिक्त–

युवालाई– रोजगारीको सुरक्षा,

आमाबाबुलाई– छोराछोरी विदेशिन नपर्ने भविष्यको सुरक्षा,

श्रमजीवी जनतालाई– पारिश्रमिकको सुरक्षा,

किसानलाई– पसिनाको मूल्यको सुरक्षा,

उद्योगी/व्यापारीलाई– नीति, स्थिरता र लगानीको सुरक्षा,

विद्यार्थीलाई– सपनाको सुरक्षा,

आम नागरिकलाई– न्यायको सुरक्षा ।

भाषा, पहिरन, धर्म, आस्था, जात–जातिको गौरव— सबैको पहिचानको सुरक्षा ।

संविधान, लोकतन्त्र, अदालत, संसद, संस्थाहरू— सबको अस्तित्वको सुरक्षा ।

त्यसैले हामी भन्छौँ—

हाम्रो राजनीति केवल सत्ता बदल्ने राजनीति होइन—

जीवनमा सुरक्षाको अनुभूति दिने राजनीति हो ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्यको सुरक्षा हो ।

अर्को शब्दमा– सुरक्षा, समृद्धि र सुखको सुनिश्चितता हो ।

जहाँ नागरिकको ज्यान, अधिकार, सम्मान, देशको अस्तित्व र भविष्य सुरक्षित होस् ।

प्रिय कमरेडहरु, साथीहरु,

यस जटिल परिस्थितिमा अनेक चुनौतीहरुको सामना गर्दै आफ्नो गन्तव्यतर्फ दृढता र सक्रियताका साथ अगाडि बढौं । अहिले तत्कालका लागि अनधिकृत र असंवैधानिक सिफारिसमा विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेशबाट नयाँ प्रतिनिधिसभा निर्माण गर्ने बाटोमा अगाडि बढौं ।

वर्तमान असंवैधानिक सरकारले जालझेल र प्रतिशोधको बाटो लिएको छ । त्यसका लागि एकातिर निर्वाचनको हल्ला गर्ने, अर्कोतिर निर्वाचन बिथोल्ने ‘सरकार–जेनजी सम्झौता’जस्ता नाटक मञ्चन गरेर लोकतन्त्रलाई रोक्ने वातावरण सिर्जना गर्ने अनेक प्रपञ्चहरुको जालो पनि बुनिरहेको छ । यस स्थितिलाई तोडेर संविधानलाई पुन: लिकमा फर्काउनु छ, जहाँ नेपाल सुरक्षित होओस् ।

साथीहरू,

सुरक्षित नेपालको पहिलो सर्त के हो ?

हामी–हामीबीचको एकता— एक एमालेले अर्को एमालेसँग हात मिलाउनु, मन जोड्नु ।

हामी एघारौँ महाधिवेशनमा छौँ । यसको अंक “एघार”लाई एकछिन् ध्यान दिएर हेरौँ—

एघारमा दुई वटा “एक” हुन्छन्,

तर छुट्टाछुट्टै, टाढाटाढा उभिएका “एक” होइनन् ।

एउटै लाइनमा, एउटै दिशातिर फर्किएका, एउटै लक्ष्य बोकेर उभिएका “एक” हुन् ।

त्यसैले, हामी प्रत्येक एक— एमालेले अर्को एक— एमालेसँग हात मिलाउँदा,

छुट्टाछुट्टै एक रहँदैनौँ, एउटै “एघार” बन्छौँ, बलियो शक्ति बन्छौँ ।

एक एमाले र अर्को एमाले छुट्टिए, रिसाए, एक–अर्कामाथि घात–प्रतिघात गरे—

हामी साधारण “एक–एक, एक” मात्र रहनेछौँ ।

तर एउटाले अर्कोको हात समायो, मन मिलायो—

हामी “एक–एक एघार” बन्छौँ ।

हामी एघार बन्दै अघि बढ्यौँ भने—

यो एघारौँ राष्ट्रिय महाधिवेशन साँचो अर्थमा सफल हुनेछ ।

सबैलाई शुभकामना !

धन्यवाद !

Previous Post

एमालेको ११औं महाधिवेशनमा विद्या भण्डारीको शुभकामना, सक्षम नेतृत्व निर्माण गर्नेमा विश्वस्त

Next Post

एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली

सम्बन्धितपाेस्ट

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
FEATURE

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

पुस २७, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गगन-विश्वले  गरे बहिस्कार
FEATURE

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गगन-विश्वले गरे बहिस्कार

पुस २६, २०८२
काँग्रेसले पुस २७ गते पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने
FEATURE

काँग्रेसले पुस २७ गते पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने

पुस २६, २०८२
व्यक्तिगत इच्छा,आकांक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लागौँः महानिरीक्षक कार्की
FEATURE

व्यक्तिगत इच्छा,आकांक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लागौँः महानिरीक्षक कार्की

पुस २६, २०८२
कार्यकर्तालाई ओलीको निर्देशनः निर्वाचन जतिबेला पनि हुनसक्छ, तयार रहनु
FEATURE

वाह्य चलखेलको जोखिम बढ्योः अध्यक्ष ओली

पुस २६, २०८२
कार्यकर्तालाई ओलीको निर्देशनः निर्वाचन जतिबेला पनि हुनसक्छ, तयार रहनु
FEATURE

लोकतान्त्रिक शक्तिहरुको पुनरागमन हुने देखिएपछि विध्वंशका पक्षधरहरु एकजुट भए: अध्यक्ष ओली

पुस २६, २०८२
Next Post
एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली

एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Currently Playing

ताजा समाचार

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

पुस २७, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गगन-विश्वले  गरे बहिस्कार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक गगन-विश्वले गरे बहिस्कार

पुस २६, २०८२
काँग्रेसले पुस २७ गते पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने

काँग्रेसले पुस २७ गते पार्टीको केन्द्रिय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने

पुस २६, २०८२
व्यक्तिगत इच्छा,आकांक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लागौँः महानिरीक्षक कार्की

व्यक्तिगत इच्छा,आकांक्षा र इन्द्रिय सुखबाट माथि उठेर नागरिक सुरक्षामा लागौँः महानिरीक्षक कार्की

पुस २६, २०८२
कार्यकर्तालाई ओलीको निर्देशनः निर्वाचन जतिबेला पनि हुनसक्छ, तयार रहनु

वाह्य चलखेलको जोखिम बढ्योः अध्यक्ष ओली

पुस २६, २०८२

ट्रेन्डिङ

  • रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

    रामेछापको दोरम्बा-शैलुङमा सामन्य भनाभनमा निर्घात कुटपिट गरि फरार, घाईतेको अवस्था गम्भीर

    263 shares
    Share 146 Tweet 91
  • सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ भन्छन सामान्य भनाभन, स्थानीय भन्छन अध्यक्षले हातपात गरे

    361 shares
    Share 144 Tweet 90
  • रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) बाट ठुलोकान्छा तामाङले पाए टिकट

    298 shares
    Share 119 Tweet 75
  • नेपालकै न.१ कोरियन भाषा स्कुलको रुपमा चिनिदै “अल्फा कोरियन भाषा स्कुल” २०२२ मा ९० प्रतिशत बिद्यार्थी उतिर्ण गराउन सफल

    165 shares
    Share 108 Tweet 68
  • सुनापति गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को उम्मेदवारी दर्ता सम्पन्न,सिङ्गो पालिका एकलौटी जित्ने ठोकुवा

    1255 shares
    Share 104 Tweet 65

सुनाैलाे ग्रुप अफ कम्पनिद्वारा सञ्चालित

Sunaulopana

सूचना विभाग दर्ता नंं : २७३३/०७८-०७९

हाम्राे टीम

सुनौलो ग्रुप अफ कम्पनि प्रा.लि.द्वारा सञ्चालित सुनौलोपानका लागि
अध्यक्ष तथा प्रबन्ध निर्देशक : मनाेज खड्का
सम्पादक : जीवन कटवाल
प्रमुख संवाददाता :
बजार व्यवस्थापक :

सम्पर्क

ठेगाना :
सम्पर्क नं. : ९८६०३०१४९०
इमेल : sunaulopana@gmail.com

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • मनाेरञ्जन
  • अन्तरवार्ता
  • विविध
    • खेलकुद
    • पर्यटन
    • फाेटाे फिचर
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© Sunaulo Group of Company Pvt. Ltd (sunaulopana.com ) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist