पौष ३०,२०८२ बुधवार- नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधर सभापति शेर बहादुर देउवाले नेतृत्व छोड्न तयार नभए निर्वाचनमार्फत पार्टीको नीति र नेतृत्व परिवर्तन गरिने स्पष्ट पारेको छ।
मंगलवार साँझ विषेश महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरहरुले मंगलवार राति पनि सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन गरिने स्पष्ट पारेको हो। पत्रकार सम्मेलनमा बोल्दै विषेश महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले पार्टीको संस्थापन पक्ष विषेश महाधिवेशनको अपनत्व लिन तयार भएको भएपनि सभापति देउवा नेतृत्व छोड्न तयार नभएको उल्लेख गर्दै सो कुरा आफूहरुको लागि स्वीकार्य नरहेको बताए । उनले सभापति देउवाले पार्टी नेतृत्वसँगै सक्रिय राजनीतिबाट समेत बिदा लिनुपर्ने अडान राखे।
उनले भने, ‘अरु सबै विषयमा सहमति पुगेको भएपनि नेतृत्व परिवर्तनको विषयमा सहमति भएको छैन। हामी नेतृत्व परिवर्तन नभएसम्म हाम्रो लागि स्वीकार्य छैन। उहाँले विशेष महाधिवेशनको अपनत्व लिन उहाँहरु तयार भएपनि नेतृत्व छोड्न तयार हुनुभएको छैन। आज राति सहमति भयो भने सहमति हुन्छ नभए निर्वाचनको प्रक्रिया अगाडि बढ्छ । महाधिवेशन प्रतिनिधिको नामावलीमा राष्ट्रपतिको नाम भुलवस रहन पुगेको हो । अब सभापतिले बुढो शरिर लिएर राजनीति गर्नुभएन, उहाँले पार्टीको र व्यक्तिगत इतिहास लेख्न बाँकी नै छन् । त्यसकारण सभापतिज्यूलाई हामीले इतिहास लेख्न आग्रह गरेका छौँ ।’
पोखरेलले सभापति देउवाले पार्टी नेतृत्व छोडेर पार्टी र व्यक्तित्वबारे लेखनमा बाँकी जीवन व्याप्त गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टीको दोस्रो विशेष महाधिवेशनमा मंगलवारको बन्दसत्र सकिएको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएसँगै बन्दसत्र समापन गरिएको हो।













