८ असोज,बुधवार,काठमाण्डौ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफ्नो लागि मन्त्रालयभित्रै तयार पारिएको शयनकक्ष ‘पाँचतारे होटल’ जस्तो भएको बताएका छन।

मंगलबार बेलुकी आफ्नो शयन कक्ष अवलोकनपछि मन्त्री पुनले भने, ‘फाइभस्टार होटल जस्तोमा सुत्न पाइने भयो । यस्तै त हुन्छ त फाइभस्टार होटलमा । रुम ठूलो छ, यस्तो चिटिक्कको छ, बेड ठूलो छ…।’
केशरमहलस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकै दिन मन्त्रालयभित्रै बस्ने–खाने बताएका उनले सचिवलाई सो व्यवस्था मिलाउन निर्देशन दिएका थिए।
उनको निर्देशन बमोजिम मंगलबार नै मन्त्रालयभित्र भान्सा र शयन कक्ष तयार पारिएको हो।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनलाई अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नियुक्त गरेकी थिइन।

मन्त्री पुनले आफू राष्ट्रिय आविष्कार केन्द्रमा छँदा भुइँमा सुत्ने गरेको सुनाए । ‘म आविष्कार केन्द्रमा हुँदा भुइँमा टेन्ट टाँगेर, एउटा म्याट्रेस ओछ्याएर सुत्थेँ, म यस्तैमा हुर्किएँ’ उनले भने, ‘कि यस आराममा हुर्किएको भए एउटा कुरा हुन्थ्यो । भगवानले यस्तै दिए के गर्नु ।’
‘भुइँमा सुत्ने मान्छे’लाई फाइभस्टार होटलको जस्तो सुविधायुक्त बासको व्यवस्था मिलाइदिएको भन्दै मन्त्रालयका कर्मचारीहरुप्रति आभार प्रकट गरेका छन।

मन्त्री महावीर पुनको शयन कक्ष
जेनजी युवा आन्दोलनको क्रममा सिंहदरबार परिसरभित्र रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा आगजनी भएपछि लैनचौरको केशरमहलमा शिक्षा मन्त्रालयलाई सारिएको थियो।
त्यहाँ रहेको मन्त्री पुनको कार्यकक्षलाई पार्टेसन गरेर त्यससँगै जोडिएको ठाउँमा शयन कक्ष बनाइएको छ। त्यहाँ बक्स पलङ राखिएको छ । छेउमा टेबुल, कुर्सी, दराज र कपडा झुण्ड्याउने ह्याङ्गर राखिएको छ।

शयन कक्षको छेउमा सानो भान्सा कोठा छ । भान्सामा पकाउने खाने भाँडाकुँडा, डाइनिङ टेबल, फ्रिज लगायतका सामग्री छन।
मन्त्रीहरुका लागि ललितपुरको भैंसेपाटीमा रहेको सरकारी आवासमा पनि जेनजी युवा प्रदर्शनको क्रममा आगजनी भएकाले अन्यत्र डेरा खोजेर बस्नुभन्दा आफूलाई मन्त्रालयमै बस्ने व्यवस्था मिलाइदिन मन्त्री पुनले भनेका थिए।
शिक्षा मन्त्रालयकी सहसचिव अनिता निरौलाले मन्त्री पुनका लागि एक सेट सुत्ने खाने व्यवस्था मिलाइएको बताइन् । उनको सुरक्षामा खटिने सुरक्षाकर्मीका लागि पनि मन्त्रालयमै बस्ने व्यवस्था मिलाइएको छ।
आफू पहिलेदेखि नै ‘जहाँ काम गर्ने, त्यहीं सुत्ने’ गरेको बताउँदै मन्त्री पुनले भनेका छन्, ‘बाहिर बस्न घर छैन । आफ्नो डेरा भए पनि गाह्रो हुने रहेछ । नियम अनुसार सुरक्षाको साथी तैनाथ हुने रहेछ । उहाँहरूलाई कहाँ राख्ने ? कुना–काप्चामा बसेर भए पनि यहाँ सुरक्षित हुन्छ।’













