काठमाडौं, २७ मंसिर- नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिलेको सरकारलाई अवैध भनेका छन्।
भक्तपुरको सल्लाघारीमा आयोजित नेकपा (एमाले)का एघारौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव विप्लवले सरकारलाई अवैध भनेका हुन्। उनले भने, ‘यो अवैध सरकारलाई हाम्रो समर्थन छैन, हुँदैन।’
सर्वपक्षीय अन्तरिम सरकार बनाएर चुनावमा जानुपर्ने उनको भनाइ थियो। जेनजी आन्दोलनपछिको अवस्थाको चर्चा गर्दै उनले भने, ‘राज्य छ कि छैन भन्ने अवस्थामा देश पुगेको छ।’
यस्तो अवस्थामा कम्युनिस्टहरू एकजुट हुनुपर्नेमा उनले जोड दिए। ‘कम्युनिस्टहरूले यो देशमा धेरै दुःख गरेका छन्। राजनीतिक शक्तिले दुःख गरेका छन्। देशभक्तले पनि दुःख गरेका छन्,’ विप्लवले भने, ‘नेपाली जनताका अपेक्षा अधूरा छन्। सहिदका सपना अधूरा छन्। देशको स्वाधिनता अझै अधूरो छ।’











