शुक्रवार,पुस ४,२०८२,काठमाडौँ । रुपन्देहीको कञ्चन गाउँपालिका–धौलागिरी चौकका १७ बर्षिय इशान शर्मा पौडेलको शव फेला परेको छ। उनको हत्या भएको बताइएको छ।
तेक्वान्दोका खेलाडी रहेका इशानकी आमा ब्यूटीपार्लर चलाउने गर्छिन्। ईशान बुधबार साँझदेखि बेपत्ता रहेका थिए।
स्थानीयका अनुसार विद्यालयमा एक किशोरीको विषयमा साथीसँग ईशानको झगडा परेको थियो। झगडा गरेका मध्य एक जनालाई प्रहरीले सोधपुछका लागि पक्राउ गरिसकेको छ।
तर हत्याको खास कारणचाहिँ खुलीसकेको छैन।
दोषीलाई छिटो पक्राउ गर्न स्थानीयले माग गरेका छन्। कन्चन–३ का वडा सदस्यसमेत रहेका छिमेकी दीपक अधिकारी केही दिन पहिले विद्यालय परिसरमा ईशान र साथीहरूबीच एक युवतीको विषयमा विवाद भएको बताएका छन्।












