काठमाडौं । प्रदीप खड्का अभिनित फिल्म ‘प्रेम गीत ३’आगामी दशैंमा रिलिज हुने भएको छ । प्रेमगीत ३ असोज ७ गते दशैंको अवसरमा रिलिज हुने भएको हो ।
फिल्मका निर्देशक तथा निर्माता सन्तोष सेनले सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्म आगामी दशैंमा रिलिज हुने जानकारी दिएका हुन् ।
‘समयसँगको धैर्यता, टिमको अजम्बरी कामप्रतिको मेहनत। प्रतिफल हजुरहरुमाझ यो बडा दसैँमा पोख्ने निधो गरेका छौँ,’ उनले लेखेका छन्।
यस फिल्ममा प्रदीप खड्कासँगै क्रिस्टिना गुरुङ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवा लगायतका कलाकारहरुको अभिनय रहेको छ।
त्यसो त दुईवर्ष अघि नै रिलिज डेट तय गरेको प्रेम गीत ३ कोरोना महामारीका कारण प्रदर्शन हुन सकेको थिएन । यस फिल्म नेपालीसँगै हिन्दी भाषामा पनि रिलिज हुने निर्माण टिमले जनाएको छ ।