काठमाडौं– प्रदर्शनरत नेपाली चलचित्र कबड्डी द फाइनल म्याचकी नायिका मिरुना मगर र फूर्पा तामाङबीच सहमति भएको छ । दुवैले एकापसमा क्षमायाचना गर्दै सहमति भएको हो ।
१५ जेठमा सिभिल मलमा नायिका मगरले आफूमाथि दुर्व्यवहार भएको भन्दै तामाङमाथि थप्पडसमेत हानेकी थिइन् । लगत्तै तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सो घटना बाहिर आएपछि सामाजिक सञ्जालमा नायिकाको आलोचना सुरु भएको थियो । अहिले उनीहरुबीच मिलापत्र भएको हो ।
तामाङले आफ्नो गल्ती स्वीकार गरेको र नायिका मगरले भाइ सम्झेर माफी गरेकी हुन् ।
क्षमायाचना गर्दै सहमति पत्रमा मगरले कुनै जाति, धर्म, सम्प्रदायप्रति असर पुग्ने आशयले कुनै कार्य नगरेको भएपछि सो परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुने गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय वा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा मागेकी छन् ।
दुवै पक्षबीच भएको सहमतिमा अब यस विषयलाई लिएर विवाद नगर्नेसमेत सहमति गरिएको छ ।