सर्वोच्च अदालतले बाराको निजगढमा विमानस्थल नबनाउन आदेश दिएको छ । न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको वृहत पूर्ण इजलासले निजगढमा विमानस्थल नबनाउन आदेश गरेको हो ।
निजगढमा विमानस्थल बनाउन २४ लाखभन्दा बढी रुख काट्नुपर्ने अध्ययनका क्रममा देखिएको थियो । वातावरण अभियन्ताहरूले निजगढमा विमानस्थल बनाउन नहुने माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका थिए । निजगढमा विमानस्थल बनाउँदा पर्यावरणमा ठूलो क्षति पुग्ने बताउँदै सर्वोच्चले विमानस्थल नबनाउन आदेश गरेको हो ।
सर्वोच्च अदालतले सरकारले यसअगाडि निजगढ विमानस्थल निर्माणका लागि गरेका सबै निर्णयसमेत खारेज गर्न आदेश दिएको छ । वातावरणमा प्रभाव नपार्नेगरी निजगढको सट्टा अन्यत्र विमानस्थल बनाउन सर्वोच्चले सरकारलाई सुझाएको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्न खोजिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पर्सा राष्ट्रिय निकुञ्जसहित ८ हजार ४५ हेक्टरमा फैलिएको जंगल काट्नु पर्ने प्रस्ताव गरिएको थियो ।