कैलाली । एक साता यता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ। अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन्।
हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण आजभोलि अन्य समयभन्दा बढी गर्मी महसुस हुन थालेको छ। मनसुन सुरु भएपछि गर्मी कम हुँदै जाने मौसमविद् प्रतिभा मानन्धर बताउँछिन्। ‘अझै केही दिन गर्मी बढ्ने अनुमान गरिएको छ’, उनले भनिन्।
कैलालीमा यस वर्ष सबैभन्दा बढी गर्मी गत वैशाख १३ गते रेकर्ड भएको छ। त्यो दिन कैलालीको अधिकतम तापक्रम ४०.८ डिग्री सेल्सियस मापन भएको थियो भने अहिले अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस हाराहारी छ।
गर्मी बढ्ने सम्भावना अझै रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत महाकाली वेसीन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरी बताउँछन् ।
‘गर्मीको समयमा जाडोको तुलनामा शरीरलाई हानी पुर्याउने जीवाणु बढी सक्रीय हुने भएकाले विभिन्न रोगको सङ्क्रमण हुनसक्ने चिकित्सक बताउँछन्। टीकापुर अस्पतालका डा संवाद खरेल गर्मीका कारण धेरै समस्या देखिन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आवश्यक रहेको बताउँछन्।
दिउँसो घाममा सकेसम्म नहिँडौँ, हिँड्नै परे पनि शरीरको सुरक्षा हुने खालका उपाय अपनाएर हिँडौँ, पानी पर्याप्त पिउने वा पानी बढी पाइने खानेकुरा बढी खानुपर्छ’, उनले भने। लापरवाही गरे यो समयमा विभिन्न सरुवा रोग वा अन्य दीर्घरोगको जोखिम रहने उनको भनाइ छ।