काठमाडौं । सुनापति गाँउपालिकालाई परिवर्तन गर्नका लागि निर्वाचन जितेको भोलीपल्ट नै माओवादीले त्यँहा स्वास्थ्य चौकीको भवन निर्माण गर्ने माओवादी केन्द्रका सुनापति गाँउपालिका अध्यक्ष उम्मेदवार ठुलोकान्छा तामाङले बताए ।
सुनापति गाँउपालिकाको दिमीपोखरीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने ‘हाम्रो पार्टीले जित्यो भने भोलीपल्ट नै स्वास्थ्य चौकीको भवन निर्माण गर्नेछौं । त्यति मात्रै नभएर विगतमा पनि हामीले बाटो बनाँउनको लागि धेरै संघर्ष गरेका थियौं । तर यहाँका विकास विरोधीहरुले विवाद गरेका थिए । अब बाटो निर्माणका लागि हाम्रो टिमले पहल गर्नेछ ।’
त्यस्तै पाँच वटै वडाबाट पालिकासम्म जाने सडकहरु पाँचवर्ष भित्र पिच गर्ने घोषणा पत्रमा लेखिएको ठुलोकान्छा बताउँछन् । पिचसडकसँगै बिजुलीको समस्या, महिलाको हक अधिकार, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी लगायतका समस्या समाधान गर्ने उनको भनाइ छ ।
साथै कृषि खेतीलाई प्राथमिकतामा राखी खेती गर्नेलाई अनुदान दिने उनले बताए ।
उनी भन्छन् ‘कृषि खेतीलाई प्राथमिकता दिएर बाख्रा, बुङगुर तथा गाईभैसी पालन लगायतका सबै काममा हामीले अनुदानको रकम तथा बजेटहरु छुट्याउनेछौ ।’