काठमाडौँ – सौन्दर्य प्रतियोगिताका आयोजकले सात वर्षअघि नशालु पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी युवतीको घरमा प्रहरी पुगेको छ ।
हदम्यादका कारण पीडकमाथि कारबाही नहुने भन्ने सुनेपछि विक्षिप्त अवस्थामा अर्को भिडियो सार्वजनिक भएपछि प्रहरी टोली उनको घरसम्म पुगेको हो ।
शुक्रबार संसदमा पनि यो विषयले प्रवेश पाएको छ । कांग्रेस महामन्त्री एवं सांसद गगन थापाले तत्काल छानबिन थाल्न सरकारसँग अनुरोध गरेका थिए ।
बुधवारदेखि सामाजिक सञ्जालमा एक युवतीको यौन शोषणबारे खबरहरु भाइरल भइरहेका छन् । सामाजिक सञ्जाल टिकटकमा एक युवतीले ‘सुसी खान जाने हो’ नामको एकाउन्टबाट आफूमाथि यौन शोषण भएको घटना सार्वजनिक गरेकी थिइन् । उनले २०७१ सालमा भएको ‘मिस ग्लोबल इन्टरनेशनल’ नामक ब्युटी प्याजेन्ट (सुन्दरी प्रतियोगिता)का क्रममा आफूमाथि बलात्कार भएको टिकटकको भिडियोमार्फत खुलाएकी थिइन् ।