२२ फागुन,२०८० काठमाण्डौ– नयाँ सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहसहित ४ मन्त्रालय दाबी गरेको छ।
गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने पार्टी उपसभापति स्वर्णिम वाग्लेले बताए।
गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने उपसभापति वाग्लेले बताए। उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने उनको भनाइ छ।
‘एमालेको दाबी होला तर गृह त हामी छोड्दैनौं । गृह त हाम्रो बटम लाइन नै हो,’ उनले भने, ‘यत्रो मूल्य चुकाएर पुराना पार्टीमा जानु छ। गृह नै पाइएन भने त औचित्य नै हुँदैन ।’
मन्त्रालय भागबन्डाका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज दिउँसो बस्दैछ। बैठकमा रास्वपाबाट वाग्ले नै सहभागी हुनेछन।
सोमबार नयाँ गठबन्धनसहित विस्तार भएको मन्त्रिपरिषदमा रास्वपाबाट डिपी अर्याल मन्त्री बनिसकेका छन। मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन ।