पौष ३०,२०८२ बुधवार- नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्र देखिएको विवाद समाधान गर्न संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच संवाद जारी रहेपनि निष्कर्ष निस्कन नसकेको बताएका छन।
पार्टी केन्द्रिय कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता साउदले यस्तो बताए। उनले विशेष महाधिवेशनको कार्यतालिका स्थगित गरेर गगन–विश्व समूह समेत संवादमा सक्रिय रहेको दाबी गरे। उनले विशेष महाधिवेशन पक्षधरले अघि सारेका विधानअनुरुपका मागहरु सम्बोधन गर्न पार्टी नेतृत्व तयार रहेको पनि बताए।
उनले भने, ‘वार्ता अगाडि बढेको छ। तर निष्कर्ष निकाल्न सकिएको छैन। भृकुटिमण्डपमा भेला गरिरहनुभएको साथिहरु पनि कार्यतालिका स्थगित गरेर आउनुभएको छ । संवाद जारी छ । उहाँहरुले जे प्रश्ताव ल्याउनुभएको छ। हामी सकारात्कम प्रश्तावलाई सकारात्मक रुपमै लिएका छौँ। उहाँले पनि निर्वाचनको तालिका स्थगित गरेर आउनुभएको छ। पार्टी एकतालाई कायम गर्नको लागि सबै गम्भीर हुनुपर्छ। अहिले केन्द्रीय समिति बैठक जारी छ। पार्टी विधानअनुसारका मागहरु सम्बोधन गर्न पार्टी नेतृत्व सकारात्मक छ। भृकुटिमण्डपबाट उनीहरुले भेला स्थगित गरेर फर्किनुपर्छ ।’
उनले भृकुटिमण्डपमा जारी विशेष महाधिवेशनलाई भेलाको संज्ञा दिँदै उक्त भेला स्थगित गरेर फर्किन समेत आग्रह गरे।













