माघ १,२०८२ बिहिवार- नेपाली काँग्रेसका नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले पार्टीका विगतका कमजोरीप्रति आत्मालोचना गर्दै जनतासँग पुनः विश्वासको सम्बन्ध स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन।
काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनबाट उपसभापति चुनिएपछि सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन। गगन थपाको नेतृत्वमा पार्टीलाई नयाँ ऊर्जा र दृष्टिकोणसहित अघि बढाउने संकल्प समेत उनले गरे। पार्टीको आन्तरिक एकता बलियो एकजुट भएर जनताका मुद्दा सम्बोधन गर्न लागिपर्ने उनको भनाइ छ।
उनले भने,‘सुनौलो बिहानीमा ब्युँझिदै गर्नुभएका आमाबुवा, दाजुभाईलाई भन्न चाहन्छु, गगन थापाको नेतृत्वमा काँग्रेस अब नयाँ भएर आउँदैछ, नविन भएर आउँदैछ। काँग्रेस विगतका कमी कमजोरीहरुको लागि आत्मआलोचना गरेर आउँदैछ। फेरी हाम्रा कारण कँहीकतै कसैको मन दुखेको छ भने ती सबैसँग क्षमा माग्न आउँदैछ।’
अबको १०–१५ वर्षमा नेपाललाई समुन्नत र सक्षम राष्ट्रका रूपमा निर्माण गर्न सकिने सपना बोकेर पार्टी अघि बढ्ने शर्माको भनाइ छ।













