माघ ४,२०८२ आइतवार,काठमाडौं- महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पदबाट दिनुभएको राजीनामाबारे कार्यपालिका बैठकमा जानकारी गराइएको छ ।
आईतवार बसेको नगर कार्यपालिका बैठकमा उपप्रमुख सुनिता डंगोलले साहले महानगर प्रमुखको पदबाट राजीनामा दिएको जानकारी गराउनुभएको हो । कार्यपालिका बैठकमा उहाँले महानगरको विकास र सुशासनको क्षेत्रमा दिएको योगदानका लागि धन्यावाद ज्ञापनको प्रश्ताव समेत पेश गर्नुभयो । नगर कार्यपालिका बैठकले शाहप्रति धन्यवाद ज्ञापन गर्ने प्रश्ताव पारित गरेको छ ।
कार्यपालिका बैठकमा डंगोलले भन्नुभयो, ‘महानगर प्रमुख बालेन्द्र शाहज्यूले आफ्नो कार्यअवधि भरी काठमाडौं महानगरपालिकाको विकास, सुशासन कायम र अन्य सकारात्मक कार्यका लागि उहाँलाई हामी सबैको तर्फबाट धन्यावाद ज्ञापन गर्दछौँ । उहाँले अगामी दिनमा पनि काठमाडौं महानगर सञ्चालनका लागि सल्लाह, सुझाव र सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा पनि गरेका छौँ । उहाँले अगामी दिनमा चाल्नुहुने पाइलाहरु सफल रहुन् भनि हामी सबैको तर्फबाट शुभकामना व्यक्त गर्दछौँ ।’
प्रमुख साहले पदबाट राजीनामा दिएपछि कार्यवाहक प्रमुखको हैसियतले डंगोलले नगर कार्यपालिकाको बैठक आह्वान गर्नुभएको हो।













