चैत ५,२०८२,बिहिवार,काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले देशको इतिहास आफ्नै हातले लेख्ने अवसर आफूहरुलाई प्राप्त भएको बताएका छन् । पार्टीले हिजादेखि सुरु गरेको रास्वपाका नवनिर्वाचित सांसदहरुलाई राखेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
लामिछानेले भने,‘संसारको कुनै पनि देशले विरलै पाउने यो अवसर तपाईं हामीले प्राप्त गरेका छौं। आफ्नो देशको इतिहास आफ्नै हातले लेख्ने यो अवसर हामीले प्राप्त गरेका छौं।’ उनले अहिले पार्टीले पाएको सफलता सामान्य परिस्थितिले नभएर स–साना भाइबहिनीहरूले आफ्नो रगत बगाएर ल्याएको परिवर्तन भनेका छन् । उनले अर्को निर्वाचनमा कुनै पनि उम्मेदवारले भोट माग्न जान नपरोस भनेर काम बोलोस् भनेर भनेका छन् ।
उनले आफ्नो लागि विकासको सूचक भनेको नै सामाजिक न्याय भएको भन्दै समाजको विभेद अन्त्य गरिने बताए । उनले थपे,‘मलाई सोध्नुहुन्छ भने मेरो लागि विकासको सूचक भनेको सामाजिक न्याय हो। सोसल जस्टिस। जुन समाजमा न्याय छैन, जुन समाजमा विभेद छ, त्यो समाज मान्छे बस्ने समाज होइन। मान्छे बस्ने समाजका लागि हामीले मान्छे बस्ने समाज जस्तो बनाउनुपर्ने हुन्छ ।’
सो क्रममा उनले आफूले लोकतान्त्रिक पद्धतिलाई विश्वास गर्ने उल्लेख गरे । उनले आफू वर्तमान व्यवस्था र संविधानप्रति प्रतिबद्ध रहेको पनि स्पष्ट पारे । उनले भने,‘शासकीय स्वरूपमा सामथ्र्य पुग्दा केही न केही सुधार चाहिएको छ भन्ने कुराको हामीलाई हेक्का छ। तर वर्तमान व्यवस्था, वर्तमान परिवर्तन, वर्तमान संविधानप्रति हाम्रो प्रतिबद्धता डगमगाएको छैन। डगमगाउने वाला पनि छैन। यहाँहरुले पनि त्यसलाई डगमगाउन दिनुहुने छैन भन्ने मैले विश्वास लिएको छु।’
उनले पूराना राजनीतिक दल र नेताहरुको त्याग र तपस्यालाई पनि सम्मान गरिनुपर्ने बताए । उनले थपे,‘इतिहास रचनामा एउटा मान्छे, एउटा नेताको हात हुँदैन, एउटा पार्टीको मात्रै हात हुँदैन। इतिहासको कालखण्डदेखि यहाँसम्म विभिन्न पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आज हामीलाई यो दिन ल्याउनु भएको छ। उहाँहरूका कैयन् बेथितिहरूप्रति हाम्रो प्रश्न हो। तर इतिहासमा उहाँहरूले दिनुभएको योगदानलाई नजरअन्दाज गर्ने, त्यसलाई अपमानित गर्ने हक हामी कसैलाई पनि छैन।’
लामिछानेले अहिले पार्टीले जितेको विषयलाई देशले जितेको भनेर चित्रण गरे । उनले थपे,‘यो रास्वपाले जितेको होइन, यो देशले जितेको हो, हामीले प्रमाणित गर्नुपर्ने छ । देशको विश्वविद्यालयहरूले काचुली फेर्नु पर्ने छ। उद्योग कलकारखाना चल्नुपर्नेछ। देशमा कामधन्दा निरन्तर चल्नुपर्ने छ। इम्प्लोइमेन्ट क्रिएट गर्नु पर्नेछ । मुलुक नया मान्छेहरूको हातमा गयो कहीँ अप्ठ्यारोमा पर्छ कि, लोकतन्त्र पो खतरामा पर्छ कि, कहीँ कतै अलिकति अधिनायकवाद आउँछ कि जस्ता जुन शंका भ्रम या आशंकाहरू कतै कतै भएको छ। म चासो राख्ने, सरोकार राख्ने सबैलाई बताउन चाहन्छु कि मुलुक राम्रो हातमा छ। विल ह्यान्डल इट विथ केयर, हामी यसलाई एकदमै केयरफुल्ली यो जनताले दिएको मतलाई अत्यन्त प्रेमका साथ अत्यन्त सौहार्दका साथ करुणाका साथ र अत्यन्त चनाखो भएर हामी काम गर्नेछौं।’






