२७ बैशाख, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट प्रस्तुत विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १ सय २४ मत आएको हो । सरकारको नेतृत्वका लागि प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाउँ भनी संसदमा प्रस्ताव दर्ता गराएका थिए।
प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मत खसेको छ । सोमबारको बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसेका छन्। प्रस्तावको पक्षमा आएको ९३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे।
संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर प्रधानमन्त्री ओलीले आफैं दलको सबै मत पाउन सकेनन् । एमालेमा समानान्तर संरचना बनाएको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित भएका थिए ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई-उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।
जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का एक सांसद तटस्थ बसेका छन् ।








