२ माघ २०७९ सोमबार पोखरा- विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फरेन्सिक विज्ञ पोखरा आएका छन।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहालले पोखरा आएर शवको परीक्षण थालेका हुन।
दुर्घटनामा मृत्यु भएकाको पहिचान तथा पोष्टमार्टमका लागि पोखरा र काठमाडौंका विज्ञ चिकित्सक सहितको टिम बनाइएको र टिमले काम थालेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए ।
खत्रीका अनुसार पोखरामा आफन्त भएका नागरिकको शवलाई प्रतिष्ठानमा पोष्टमार्टम गर्ने र अन्य चालक दलका सदस्य विदेशी यात्रु र नचिनिने अवस्थामा भएका शवलाई काठमाडौं पठाउने तयारी छ।
नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार ७२ मध्ये ६८ जनाको शव भेटिएको छ। चार जनाको शवको खोजी भइरहेको छ। भेटिएका शवमध्ये ३८ जनाको पहिचान भएको छ ।
दुर्घटनास्थलबाट निकालिएको शवहरु पोखरा स्वास्थ्य प्रतिष्ठानमा राखिएको छ ।