काठमाडौँ । नेपाली सेनाले भदौ २३ र २४ गतेका घटनाका क्रममा उत्पन्न विषम परिस्थितिलाई सामान्यीकरण गर्न आफूले आवश्यक र उपयुक्त पहलहरू गरेको जनाएको छ। सेनाले आन्तरिक सुरक्षामा पर्न सक्ने सम्भावित असरको वस्तुपरक मुल्यांकन गर्दै शान्ति र स्थिरता कायम गर्ने उद्देश्यका साथ काम गरेको स्पष्ट पारेको छ।
शुक्रबार जारी विज्ञप्तिमा सेनाले उक्त घटनापछि आफ्नो भूमिकाप्रति विद्वत् वर्ग, समाजसेवी, सञ्चारकर्मी र आम नागरिकबाट प्राप्त राय, सुझाव र समालोचनात्मक अभिव्यक्तिप्रति आभार व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको छ, “गत भाद्र २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यीकरण गर्ने सम्बन्धमा नेपाली सेनाले वहन गरेको भूमिकाप्रति विभिन्न क्षेत्रबाट प्राप्त अभिव्यक्तिहरूप्रति हामी कृतज्ञ छौँ।”
सेनाले हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था तथा नेतृत्वमाथि गरिएका टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ। साथै, आफ्नो गतिविधि र धारणा सम्बन्धी जानकारी नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको बताएको छ।
सेनाले नेपाली सेनासम्बन्धी यथार्थपरक जानकारी प्राप्त गर्न जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गर्न सबैमा अनुरोध गरेको छ। विज्ञप्तिमा भनिएको छ, “सेनासम्बन्धी सूचना सम्प्रेषण गर्दा आधिकारिक स्रोतबाटै पुष्टि गरी तथ्यमा आधारित सामग्री प्रकाशन गर्न सबैमा हार्दिक अपिल गर्दछौँ।”
नेपाली सेनाले आन्तरिक शान्ति र सुरक्षाको संवेदनशीलताप्रति सचेत रहँदै राष्ट्रिय स्थायित्व कायम राख्ने दिशामा निरन्तर प्रतिबद्ध रहेको पुनः स्पष्ट पारेको छ।












