काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने अवस्था नरहेको बताएका छन् ।
शीर्ष नेताहरूको दोस्रो दिनको बैठकमा बोल्ने क्रममा सिटौलाले अहिले सभापति देउवाको विकल्प खोज्नु बेठीक हुने बताएका हुन् ।
बैठकमा सहभागी एक नेताले सिटौला सभापति देउवालाई पदमुक्त गर्ने पक्षमा नदेखिएको बताए । सिटौलाको बोली उद्धृत गर्दै ती नेताले भने, ‘अहिले नै सभापतिको विकल्प खोज्ने बेला भएको हो त ? विकल्प खोज्नु पर्ने अवस्था अहिले म देख्दिन ।’
पार्टी पुर्नगठन गरी नयाँ नेतृत्व सहित चुनावमा जानुपर्ने विचार आइरहेको बेला सिटौलाले खुलेर सभापति देउवाको पक्षमा धारणा राखेका हुन् ।
देउवाको विकल्प खोज्ने नेताहरूलाई सिटौलाको प्रश्न थियो, ‘अस्तिसम्म शेरबहादुर देउवा ठिक अहिले बेठीक कसरी हुन्छ ? अहिले नै उहाँको छोड्नु पर्ने भन्ने किन ?’
संसद् पुनर्स्थापनाको पक्षमा देखिएका सिटौलाले आजको बैठकमा त्यस विषयमा भने अलि नरम बोली राखेको सहभागी नेताले जानकारी गराए ।
उनले भने, ‘संसद् पुनर्स्थापनाका लागि उहाँको पहिले जस्तो बोली थिएन । आज अलिकति भाषा अलि नरम थियो ।’ सिटौलाले चुनाव सहजै हुने अवस्था नरहेको बताएका थिए ।











