२६ असोज,काठमाडौं- नेपालले आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इष्ट एसिया प्यासिफिक छनोटको सुपर–६ मा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई रोमाञ्चक खेलमा १ रनले पराजित गरेको छ ।
आइतबार ओमानको अल अमेरात क्रिकेटट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । प्रशिक्षक स्टुवार्ट लले तेस्रो खेलमा पनि कुनै खेलाडी परिवर्तन गरेनन् । नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४१ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा युएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एकसय ३९ रनमात्रै बनयो ।
नेपालको शीर्षक्रमका ब्याटरले सानदार प्रदर्शन गरेपनि मध्यक्रम भने चल्न सकेन । मध्यक्रम चल्न नसक्दा नेपाल युएईविरुद्ध ठूलो स्कोर बनाउन चुक्यो।
आज नै भएको सुपर सिक्सको पहिलो खेलमा ओमानले कतारलाई ३४ रनले पराजित गर्दै पहिलो दुई अंक जोडेको छ । समूह चरणमा दुबै खेल जितेपछि नेपालसहित युएई र ओमानले सुपर सिक्सको सुरुमै दुई जोडेका थिए ।
नेपालले पहिलो खेलमा कुवेतलाई ५८ र दोस्रो खेलमा जापानलाई पाँच विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकप खेल्ने योजनामा छ । युएई पनि तेस्रो पटक विश्वकप खेल्ने योजनामा छ । समूहमा युएईले मलेसियालाई ६ विकेट तथा कतारलाई सात विकेटले पराजित गरेको थियो । सुपर सिक्समा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष तीनमा रहने टोली आगामी वर्ष भारत र श्रीलंकामा हुने आईसिसी विश्वकप छनोटमा स्थान बनाउनेछन् ।












