काठमाडौं : अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’मा काम गर्ने भएका छन् । उनले एनिमलबाट बलिडमा डेब्यु गर्न लागेका हुन् ।
कबीर सिंह निर्देशक संन्दीप रेड्डी भांगाको सिनेमामा बलिउड अभिनेता रनवीर कपुर, अनिल कपुर, बबि देओल र परिनिति चोपडाको अभिनय रहनेछ । सिनेमामा अभिनेता विपिन कार्की अडिसन दिएर छानिएका होइनन् । मुम्बईबाट निर्माण टिमले सिधै फोन गरेर उनलाई सिनेमा खेल्ने प्रस्ताव गरेको हो ।
विपिनले केही दिन अघि निर्देशक सन्दिपको भाइ प्रणय रेड्डीले फोन गरेर सिनेमामा काम गर्ने प्रस्ताव गरेको र आफूलाई प्रस्ताव ठीक लागेकोले गर्न लागेको विपिनले बताए । उनलाई प्रणयसँग जोड्ने काम भने ‘सेल्फी किङ’ निर्देशक विशाल सापकोटाले गरेका हुन् ।
विपिनले अहिलेसम्म सिनेमाको स्क्रिप्ट पाएका छैनन् तर निर्माण टिमले बताएअनुसार सिनेमामा उनका अधिकांश दृश्य अनिल कपुरसँग छन् । ‘एनिमल’को अहिले दोस्रो सेड्युलको छायांकन भैरहेको छ । विपिनले सिनेमाको अन्तिम सेड्युलको छायांकन मुम्बईमा गर्नेछन् ।