विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले १२ देशहरूमा मङ्कीपक्स रोगका ८०केस पुष्टि गरेको छ। संगठनले हाल प्रकोपको हद र कारणलाई राम्रोसँग बुझ्न काम गरिरहेको बताएको छ।
संगठनका अनुसार यो भाइरसका धेरै केसहरू फेला पर्ने सम्भावना रहेको छ। अर्कोतर्फ उत्तर कोरियामा थप २ लाख २० हजार मानिसमा ज्वरोको लक्षण देखिएको छ । यतिबेला सो देश कोभिड महामारीसँग लडिरहेको छ ।
डब्लुएचओले यस सम्बन्धमा आपतकालीन बैठक बसेपछि धेरै देशका केही जनावरमा यो भाइरस रहेको र स्थानीय मानिस र यात्रुहरूमा पनि बेलाबेलामा प्रकोप हुने गरेको बताएको छ ।
हालै ११ देशहरूमा मङ्कीपक्सको केस पाइएको छ। यसको प्रकोपहरू असामान्य छन्। किनभने तिनीहरू गैर-स्थानीय देशहरूमा देखा परिरहेका छन्। हालसम्म ८० वटा केसको पुष्टि भइसकेको छ भने ५० वटा अनुसन्धान बाँकी छन् । मिडिया रिपोर्टका अनुसार बेलायत, अमेरिका, पोर्चुगल, स्पेन र केही युरोपेली देशहरूमा मङ्कीपक्स तीव्र गतिमा फैलिरहेको छ।
उत्तर कोरियाले शनिबार लगभग २ लाख २० हजारमा ज्वरोको लक्षण देखिएको उल्लेख गरेको छ। योसँगै नेता जोङले कोभिड–१९ को फैलावटलाई सुस्त बनाउदै लगेको दाबी गरेका छन् । देशको २.६ करोड जनसंख्याले कोभिड–१९ विरुद्धको खोपको डोज लिएका छैनन् । यस भाइरसको यो फैलावटले विश्वको सबैभन्दा खराब स्वास्थ्य प्रणाली भएको गरिब र पृथक देशमा भयावह अवस्थाको बारेमा चिन्ता बढाएको छ।
विज्ञहरूले उत्तर कोरियाले संक्रमण फैलिएको वास्तविक मात्रालाई कम आँकलन गरिरहेको बताएका छन्। पछिल्लो २४ घण्टामा उत्तर कोरियामा करिब २ लाख १९ हजार ३० जनामा ज्वरोको लक्षण देखिएको छ । यो लगातार पाँचौं दिन ज्वरोका बिरामीमा करिब २ लाखको वृद्धि भएको हो । उत्तर कोरियाले देशमा अज्ञात ज्वरोका कारण २४ लाखभन्दा बढी मानिस बिरामी परेको र ६६ जनाको मृत्यु भएको बताएको छ ।