काठमाडौँ । सुनापति गाउँपालिका वडा नम्बर ३ मा चिया खेतीको सुरुवात भएको छ। रामेछाप जिल्लामा पर्ने सो गाउँपालिकामा लकडाउनको समयलाई सदुपयोग गर्दै चिया बगान बनाउनको लागि पहिलो चरण सुरु भएको हो।
यहाँको चिया बगान इलामको कन्यामभन्दा कम नहुने र भविष्यमा स्थानीय जनजीवनले पनि फड्को मार्ने सुनापति चिया विकास समितीका संयोजक आले लामाको भनाई छ।
सो समितीका संयोजक लामा र सचिब मानध्वज तामाङ बगानको लागि आफै विरुवा लिन रामेछाप देखि इलाम पुगेका छन्। उनीहरु केहि दिन अघि मात्रै राखेको नर्सरीको लागि विरुवा लिन इलाम पुगेका हुन्।
यति मात्र नभई समृद्ध सुनापति निर्माणका लागि चिया बगानले महत्वपूर्ण भूमिका खेल्ने भन्दै त्यहाँका कृषकहरुसँग अनुभव बटुल्न पुगेका थिए। चियाबाट मनग्य आम्दानी हुने र एकपटक लगानी गरेपछि पुस्तौपुस्तासम्म आम्दानी लिइरहन पाउने इलामका कृषकहरुले बताए। चिया खेती नभएको भए इलाममा भोकमरी नै लाग्न सक्ने अवस्था आउने कृषकहरुको भनाई छ।