काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै देशभरका विद्यालयहरु ६ दिनसम्म बन्द हुने भएका छन् । निर्वाचनका लागि आजदेखि ६ दिन विद्यालय बन्द गर्ने निर्णय सरकारले गरेको हो ।
यसअघि सरकारले मतदानको दिन ३० गते मात्रै विदा दिने निर्णय गरेको थियो । तर सामुदायिक विद्यालयहरुमा मतदान केन्द्र राख्नुका साथै कतिपय शिक्षकहरु निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरु बन्द गरिएको हो ।
यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिएको थियो ।
वैशाख ३१ गते शनिबार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेकाले आइतबार पनि विदा हुने छ ।
जेठ २ गते बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक बिदा हुने छ । त्यसैले आजदेखि ६ दिनसम्म विद्यालयहरु बन्द हुने छन् ।