रामेछाप । स्थानीय तह निर्वाचनमा विपक्षी पार्टीले ज्यान मार्नेसम्मको खेल खेलेको सुनापति गाँउपालिकाका नवनिर्वाचित वडा अध्यक्ष पदम थापा मगर बताउँछन् ।
सुनापतिमा आयोजित विजय सभामा बोल्दै उनले आफूमाथी ज्यान मार्नेसम्मको खेल खेलिएको बताएका हुन ।
उनले भने “ज्यान मार्ने उद्देश्यले हाम्रो पार्टीको निम्ति ठुलो सड्यन्त्र गरियो तर ९० प्रतिशत घेराबन्दी गर्दा पनि १० प्रतिशतमा हामीले विपक्षी पार्टीलाई उछिन्न सफल भयौं ।”
वडा अध्यक्ष पदमा निर्वाचित भएपछि जनताको ऋणी भएको भन्दै उनले सुनापतिबासिको ऋण तिर्न आतुर भएको बताए ।
“मतदान गर्नुभयो हामी तपाईहरुको ऋणी भएका छौं । त्यो ऋण तिर्नको लागि हामी आतुर छौं । त्यसका साथै हामी प्रत्येक बस्तीमा विकास निर्माणका कार्यहरुलाई तीव्रता दिनेछौं,” मगरले भने ।
नेकपा माओवादीका उम्मेदवार मगरले नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवारलाई पछि पार्दै विजयी भएका हुन् । यसअघि मगरले चुनाव जितेपछि हरेक विकास निर्माणका कामहरु तीव्र रुपमा गर्ने प्रतिबद्धता गरेका थिए ।