सर्वनाम शिक्षालयका प्रधानाध्यापकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले जोरपाटीस्थित सर्वनाम शिक्षालयका प्रधानाध्यापकलाई यौन दुर्व्यवहार घटनाबारे सोधपुछ गर्न नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले शिक्षालयका प्रधानाध्यापक दुर्गानाथ सिवाकोटी र उनकी पत्नीलाई नियन्त्रणमा लिएको बताए । घटनाबारे सोधपुछ गर्न दुवै जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
उनका अनुसार यौन दुर्व्यवहार आरोपी होस्टल वार्डेन रामजी बस्नेत फरार भएका छन् । वार्डेन बस्नेतको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
उनका अनुसार यौन दुर्व्यवहार आरोपी होस्टल वार्डेन रामजी बस्नेत फरार भएका छन् । वार्डेन बस्नेतको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
छात्राहरूले वार्डेन बस्नेतले यौन दुर्व्यवहार गरेको जानकारी गराएपछि शनिबार अभिभावक होस्टल पुगेका थिए । अभिभावकले होस्टलमा नाराबाजी गर्नुका साथै घटनाको अनुसन्धान र दोषीलाई कारबाहीको माग गरेका थिए ।
वार्डेनले होस्टलमा बस्नेतमाथि बालिकाको संवेदनशील अंग छुने, अश्लील प्रकारका भिडियो देखाउने गरेको आरोप छ । यसबारेमा प्रधानाध्यापक सिवाकोटीलाई जानकारी गराउँदा उनले बेवास्ता गरेको पीडित छात्राहरूले गुनासो गरेका छन् ।
पीडितका आफन्तले महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरीसमेत दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।