काठमाडौं – शिक्षा मन्त्रालयका सचिव गोपिनाथ मैनालीले अनशनरत डाक्टर गोविन्द केसीलाई भेटेका छन् । २३ दिनदेखि अनशनरत डाक्टर केसीलाई अनशन तोड्नको लागि सचिव मैनालीले आग्रह गरेको बुझिएको छ ।
डाक्टर केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको भनेर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेताहरुले वार्ता गर्न सरकारलाई आग्रह गरिरहेको बेलामा शिक्षासचिव मैनाली डा. केसीलाई भेटन् पुगेका हुन् ।
भेटवार्ताको क्रममा सचिव मैनालीले डाक्टर केसीको माग सम्बोधन गर्नेबारे सरकारले अहिलेसम्म कुनै पनि वार्ता टोली गठन नगरेको स्पष्ट पारेका थिए । तर, उनले केसीलाई अनशन फिर्ता लिन आग्रह गरेका थिए ।
जवाफमा डाक्टर केसीले अनशन तोड्न आग्रह त सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गरिसकेकोले यतिका लागि कष्ट नगरेको भए हुनेथियो भनेका थिए ।