२८ चैत,२०८१काठमाडौँ, काठमाडौँबाट रामेछाप जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका स्थित दाउन्नेमा दुर्घटना भएको छ। प्रदेश–३–०१ –००६–१३३९ नम्बरको यात्रुवाहक बस सडकबाट बाँसको झाङमा पल्टिएको इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरीले बताए।
बस काठमाडौँबाट रामेछापको बाम्ती भण्डार जाँदै थियो। रोशी गाउँपालिका –९ स्थित दाउन्नेमा बस दुर्घटनामा हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरू मध्ये ८ जनालाई उद्धार गरेर भकुन्डेवेशी स्थित मेथिनकोट प्रादेशीक अस्पतालमा पठाइएको इन्स्पेक्टर गिरीले जानकारी दिए ।
सामान्य घाइतेहरूको मंगलटार स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै छ। यात्रुवाहक बस ब्रेक फेल भएर विपरीत दिशातिरबाट आएको हाइससँग ठोक्किएपछि चिप्लिएको हो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।