काठमाडौं : डीभी लोटरी २०२३ को आवेदन खुला भएको छ । अक्टोबर ६ बुधबार देखि नोभेम्बर ९ मंगलबारसम्म डिभी लोटरी भर्न सकिने बताइएको छ । डिभी २०२३ का विजेताहरुले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ ।
विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन् । यसपटक डीभी भर्नका लागि बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, होण्डुरस, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, यूके, भेनेजुएला र भियतनामका नागरिकहरु योग्य हुनेछैनन् ।
तर मकाउ र ताइवानका भने योग्य हुनेछन् । विगत ५ बर्षमा ५० हजारभन्दा धेरै आप्रवासीहरु अमेरिकामा बसाइ सराइ गरेका देशका नागरिक डिभी भर्न योग्य हुँदैनन् ।
डीभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ । डीभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ ।
६ महिनाभन्दा पुरानो फोटो डीभीभर्दा प्रयोग गर्न पाइने छैन । त्यस्तै डीभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ ।